प्रधानसेनापति शर्मालाई भारतमा मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित
काठमाडौं, भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई आज (बुधबार) भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । उनी भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित भएका हुन् ।
भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा हिजोदेखि चारदिने भारत भ्रमणमा छन् । नेपाल र भारतबीच एकाअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।
मंगलबार नै प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्ष नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानसेनापति शर्मा र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।
उक्त छलफलपश्चात् प्रधानसेनापति शर्मालाई सुरक्षामा भारतीय दुष्टिकोण विषयमा प्रस्तुतिकरण समेत गरिएको थियो । प्रधानसेनापति शर्मा र भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ विपीन रावत र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलबीच बिहीबार भेटवार्ता हुने सैनिक स्रोतले जनाएको छ ।