संशोधन विना एमसीसी पास हुँदैन : माओवादी केन्द्र
काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो ।
सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए ।
उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए ।
स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई गत बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै प्रचण्ड र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए। तर प्रचण्डले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरेका थिए।