दशौं राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन
काठमाडौं,आउँदो मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।
यसअघि महाधिवेशनले तीन वटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्ने गरी पार्टी काममा लाग्न निर्देशन दिए ।
‘आउँदो निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनु पर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनु पर्छ’, ओलीको भनाइ थियो । त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो । छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र शानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले महाधिवेशनका काम कर्तव्य पुरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताए ।