नेपालगन्ज नगर भित्र विग्रिएका सिसिक्यामेरा मर्मत गरिने
नेपालगन्ज, बाँकेको नेपालगन्जमा विग्रीएका सिसिक्यामेरा मर्मत गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा नगर क्षेत्रभित्र विग्रीएका क्यामेरा मर्मतको काम आजदेखि सुरु गरिएको हो ।नगर क्षेत्र भित्रको शान्ति शुरक्षाको लागि भन्दै करिब ५ वर्ष अघि करिब ५४ वटा सिसिक्यामेरा जडान गरिएका थिए । ती मध्ये हाल २२ वटा क्यामेरा मात्रै चालू अवस्थामा रहेका छन् ।
नगर क्षेत्रमा जडान गरिएका आधि भन्दा बढी क्यामेरा विग्रिदा समस्या हुने गरेको थियो ।
करिब एक महिना पहिले त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान हुन सकेको छैन् । त्रिभुवन चोकमा रहेको सिसिक्यामेरा विग्रीएका कारण ठक्कर दिने मोटरसाइकल पहिचानमा समस्या भएको हो ।
उक्त घटना पश्चात् स्थानीय बासिले नगर भित्र विग्रीएका सिसिक्यामेरा मर्मतका लागि आन्दोलन नै गरेपछि स्थानीय सरोकारवाला निकाय सक्रिय भएका हुन् ।