तीन बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गछौँ : विप्लव
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन ।
बुधबार पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक लगाएका क्रान्तिकारी विद्यार्थी, युवा र जनसमुदायलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफ्नो पार्टी र तत्कालीन सरकार बीच भएको सहमति लामो समयसम्म सरकारले कार्यान्वयन नगरेकोमा आक्रोष प्रकट गरे । उनले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने विद्रोह गर्ने चेतावनि समेत दिएका छन् ।
तत्कालीन केपी ओलीको सरकारले गत फागुनमा विप्लवसँग ३ बुँदे सम्झौता गर्दै जेलमा रहेका कार्यकर्तालाई छुटाउने सरकारी प्रतिवद्धता जनाएको थियो । तर सहमति भएको झण्डै ८ महिना सम्म पनि सरकारले सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले अझै पनि आफ्ना डेढ सय नेता कार्यकर्ता जेलमै रहेको बताए ।
महासचिव विप्लवले जनताको चाहना र अधिकार प्राप्तिका लागि जनमतसंग्रह नै अहिलेको उपयुक्त विकल्प भएको बताए । उनले कम्युनिष्टले दुई तिहाइको सरकार बनाउँदा समेत जनताको अपेक्षा अनुसार काम नगरी कुर्सीको लडाइमा अल्मलिएको आरोप लगाए ।
दलाल पुँजीवादी संसदीय व्यवस्था चौतर्फी असफल भएको र देश चलाउन नसक्ने अवस्थामा पुगेका कयौँ उदाहरण प्रस्तुत गर्दै महासचिव विप्लवले भने, ‘आफू पनि सत्ता चलाउन नसक्ने, देशलाई असफल बनाउने, चलाउन सक्नेहरूलाई पनि नदिने ? अब जनताले कुनै व्यक्ति वा पार्टी होइन, व्यवस्था चुन्न पाउनुपर्छ । जनताले यो असफल, भ्रष्ट, तस्कर, दलाल संसदीय व्यवस्था फाल्नेछन् र समानतामूलक वैज्ञानिक समाजवादी व्यवस्था रोज्नेछन् । लडाइँको योद्धा र प्रतिस्पर्धामा उत्रिएको खेलाडीले हार हुन्छ भनेर डराउने होइन, जित हुन्छ भन्ने आत्मविश्वासले मैदानमा उत्रिनुपर्छ । नेपाली जनताले हामीलाई, वैज्ञानिक समाजवादलाई अर्थात् आफूलाई विजयी गराउनेछन् । जनमतसङ्ग्रहबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछन् । यसमा हामीलाई विश्वास छ ।
उनले प्रजातन्त्र आएपछि पुँजीवादी सत्ताले आमसर्वहारा जनताको अधिकार र मुक्तिका लागि बेवास्ता गरी आफ्नो स्वार्थ अनुरुपको शासनसत्ता चलाएको आरोप समेत लगाए ।
महासचिव विप्लवले केही देशद्रोही नेताको स्वार्थमा एमसीसी ल्याउन खोजिएको समेत आरोप लगाए । ‘एमसीसी देशको हितमा छँदै छैन, केही स्वार्थी नेताको योजनाअनुसार देशलाई संकटका पार्न ल्याउन खोजिएको हो’ उनले भने, ‘यसलाई हाम्रो पाटीले कुनै पनि हालतमा स्वीकार्दैन, यदि जबरजस्त सहमति गरियो भने सम्झौतासँगै त्यो पारित गर्ने पार्टीका नेताहरू पनि जल्छन् । यो पक्का हो ।’
देउवा सरकारले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरेर सेना र प्रहरीलाई सुरक्षाको जिम्मा दिन लागेको प्रति सङ्केत गर्दै महासचिव विप्लवले राष्ट्रको सुरक्षाको जिम्मा लिएको सेना र प्रहरीले राष्ट्रघाती शासकहरूलाई साथ दिन नसक्ने र उनीहरूलाई पक्राउ गरेर देशभक्तहरूलाई जिम्मा लगाउनुपर्ने पनि प्रस्ट पारे । उनले भने, ‘सेनाले सधैँ गल्ती गर्दै र राष्ट्रघात गर्दै देश र जनतालाई कङ्गाल बनाउने शासकलाई साथ दिन्छ भन्ने छैन । त्यस्तै प्रहरीले पनि भ्रष्टाचारी र अपराधी शासकहरूलाई सुरक्षा दिइरहन्छ भन्ने छैन । देशका प्रशासकहरूलाई पनि यो सत्ताले देश र जनताको रक्षा र विकास गर्छ भन्ने विश्वास छैन । सेना र प्रहरी राखेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पारित नगर । देश नबेच ।’
आफ्नो पार्टीसँग बन्दुकभन्दा शक्तिशाली जनता, श्रमिक वर्ग, सहिद तथा बेपत्ता योद्धा परिवारहरू भएकाले कुनै पनि हालतमा बन्दुकदेखि नडराउने, नझुक्ने, बरु सहिद बन्न तयार हुने तर देश र जनतालाई यो बर्बर र आततायी व्यवस्थाको चङ्गुबाट मुक्त पारेरै छोड्ने उद्घोष महासचिव विप्लवले गरे । उनले भने, ‘हामी बन्दुकमा विश्वास गर्ने शक्ति होइनौँ । कम्युनिस्टहरू नै सबैभन्दा बढी शान्तिप्रिय हुन्छन् । बन्दुक हातमा लिएका सत्ताधारीहरूले कहीँ पनि जितेका छैनन् । युद्ध हाम्रा लागि रहर होइन । हामीलाई थाहा छ, सहयोद्धाहरू सहिद हुँदा कति पीडा हुन्छ ! आफ्नो सहयोद्धालाई खाडलमा पुर्नुपर्दा कति पीडा हुन्छ ! सहयोद्धा घोइते हुँदा र छट्पटाउँदा कति असैह्य हुन्छ ! त्यसैले हामी युद्ध होइन, शान्ति चाहन्छौँ । हामी जनताको मत प्रयोग गरेर व्यवस्था रोज्ने जनमतसङ्ग्रह चाहन्छौँ । यो सत्ताले हामीलाई जनताको मत प्रयोग गरेर व्यवस्था रोज्न पनि दिएन भने, सहमति नै पालना गरेन भने, युद्ध नै लाद्यो भने अर्कै कुरा हो ।’
राज्यद्वारा बेपत्ता पारिएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल र हजारौँ सहिद–बेपत्ताका आमाहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘आमा, हामी तपाईंले दिएको सन्देश शिरोपर गर्नेछौँ । खुट्टा कमाउनेछैनौँ । हामी पूर्ण पौडेलहरू हिँडेको बाटोमा हिँडिरहेका छौँ । हामी जित्छौँ आमा, विश्वस्त रहनुस्, हामी देश र जनतालाई धोका दिनेछैनौँ, बरु बलिदान हुनेछौँ ।’
राज्यको सम्पत्ति लुटेर खाने, दलाली गर्ने, युवा, महिला, विद्यार्थीलाई बेचेर कमिसन तथा रेमिट्यान्समा बाँच्ने र देशमाथि घात गर्ने सत्ता जनताको हुन नसक्ने उद्घोष गर्दै महासचिव विप्लवले अब युवा, विद्यार्थी भ्रष्टाचारी, राष्ट्रघातीहरूको सूची बनाउँदै र किसान, मजदुर, महिला, सुकुमबासीको सुन्दर भविष्यको रेखा कोर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि आन्दोलित भइरहन विद्यार्थीलाई आह्वान गरे ।