बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ
बुटवल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् ।सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्रा परेका पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षा सम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । हाल पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ ।
पंगेनी एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्ष समेत हुन् ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका थिए ।