संखुवासभा सामुहिक हत्याकाण्ड : घटनामा संलग्न ४ जना पक्राउ
काठमाडौँ, संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका छन् । यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न भई ५ जनाको समूहले उक्त घटना घटाएको प्रहरीले दाबी गरेको छ । तेजबहादुर कार्की, कमला कार्की र रञ्जना कार्कीको हत्या गरिसकेपछि आरोपीहरूले दुई नाबालकको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रत्यक्ष घटना देखेका कारण ५ वर्षीय गोमा कार्की र ८ वर्षीय दिपेन कार्कीको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । ‘उक्त घटनाको बेला मृतक नावालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखी हस्त हादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको खुलेको छ,’ प्रहरीले भनेको छ ।