विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ, वैकल्पिक राजनितीक व्यवस्थाको माग सहित संघर्षरत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचमा भेटवार्ता भएको छ ।ललितपुरको खुमलटारमा चन्द र दाहालबीच भेट भइरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी गराइन् । दाहाललाई भेट्न चन्दसहित नेकपा सचिबालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ पनि खुमलटार पुगेका छन् ।

चन्द-दाहालबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको हो ।

हिसांत्मक गतिविधि गरेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव अर्धभूमिगत बनेका थिए । उनी ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका हुन् ।

अहिले पनि उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वलि ‘शुदर्शन’, केन्द्रीय सदस्य भरत बम ‘रणबिर’ लगायतका सैयौँ नेता तथा कार्यकर्ता विभिन्न मुद्धामा कारागारमा रहेका छन । हाल विप्लव नेतृत्वको नेकपा वैकल्पिक राजनिती व्यवस्थाको माग सहित संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विकल्प सहित जनमतसंग्रह गरिनुपर्ने माग अघाडी सारेको छ ।