कर्णालीमा ३३ अर्बको बजेट ल्याउने तयारी

सुर्खेत,कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज पास हुने भएको छ। असार १ गते नै बजेट ल्याउने उद्देश्यले आज (सोमबार) संसदबाट नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध गरे पनि बहुमतका आधारमा नीति तथा कार्यक्रम पास गर्ने तयारीमा सरकार रहेको छ। तर एमालेले परिमार्जनसहित नीति तथा कार्यक्रम पास गर्नुपर्ने माग राख्दै असन्तुष्टि जनाउँदै आएको छ।

आगामी आर्थिक वर्षका लागि एमाले र प्रदेश सरकारका योजनाहरूमा तालमेल छैन। एमालेले सांसद विकास कोषकै मोडलका (निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम,जनता सडक कार्यक्रम र निर्वाचन क्षेत्र विकास आयआर्जन कार्यक्रम) समेट्न माग गरेको छ।त्यस्तै, कर्णाली प्रदेश सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने सरकारले जनाएको छ। सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी समेत रहेको जनाएको छ। असार १ गते अर्थात भोलि (मंगलबार) बजेट ल्याउने गरी तयारी भइरहेको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

मन्त्री गोपाल शर्माका अनुसार अहिले नै यति भनेर तोक्न नमिल्ने तर ३३ अर्बको हाराहारीमा बजेट आउने बताए। ‘प्रदेश सरकार बजेट निर्माणकै क्रममा रहेकाले केही थपघट हुन सक्छ, बजेट निर्माण सकिएकै छैन, ठ्याक्कै त कसरी भन्नु,’ उनले भने, ‘त्यही ३० देखि ३३ बीचमा बजेट आउँछ।’यसअघि प्रदेश सरकारले ३० अर्बको बजेट ल्याउने तयारी गरे पनि अहिले अलि बढ्ने सम्भावना भई ३३ अर्बको बजेट आउन सक्ने मन्त्री शर्माको भनाई छ।

आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारले कर्णालीलाई साढे १५ अर्ब बजेट दिएको छ। जसमा समानीकरण अनुदानमा १० अर्ब १४ करोड २१ लाख, सशर्त अनुदानमा तीन अर्ब ९८ करोड ७७ लाख, विशेष अनुदानमा ६१ करोड ३० खाल र समपुरक अनुदानमा ८१ करोड ३५ लाख बजेट दिएको छ।