सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ ।
समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ ।
बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजन गरिएको हो ।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।