अफगानिस्तानमा एक तालिबानी कमाण्डर सहित १८ जना मारिए
काठमाडौं, अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् ।अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाई कारबाही गरिएको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एक जना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमान्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।
सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाइले सो घटनाको पुष्टि गरेका छन् । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाइले पुष्टि गरे । उनले ती कमाण्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताए ।
यस कारबाहीको तालिबान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौं आतंककारी मारिएका बताइएको थियो ।
पछिल्लो समयमा अफगानिस्तानमा तालिबान र आईएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आईएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । रासस / सिन्ह्वा