गाउँ भरी नै संक्रमण फैलिएपछि जुम्लाको रावतबाडा सिल

उनका अनुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउनेछैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुवै जोडिएका गाउँ हुन् । गाउँमा कोरोना संक्रमित बढ्न सक्ने भएकाले गाउँपालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए ।
मंगलबार गाउँका २७ जनामा एन्टिजेन परीक्षण गरेकोमा नौजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका एक सय नाैजनाको पिसिआरका लागि स्वाब संकलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।
‘गाउँमा कोरोना संक्रमण भयावह हुन सक्ने अवस्था आयो,’ गाउँपालिका स्वास्थ्य संयोजक चौलागाईंले भने, ‘गाउँ नै सिल गर्ने निर्णय भयो ।’ विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो । एकैपटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो ।