प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रीले ४ बजे बजेट सार्वजनिक गर्ने
काठमाडाैं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
सरकारले अध्यादेशबाट आगामी आवका लागि पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । अहिले बजेटलाई अन्तिमरुप दिने काम भइरहेको छ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने छन् ।
संघीय सरकारले १५ जेठमा वार्षिक बजेट (राजस्व र व्ययको अनुमान) संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले बजेट अधिवेशन नबोलाई प्रतिनिधिसभा विघटन गरेर निर्वाचन समेत घोषणा गरिसकेको छ । संसद नरहेको तथा चुनाव घोषणा भईसकेको अवस्थामा काम चलाउ बजेट मात्रै ल्याउनुपर्ने भन्दै सरकारलाई चौतर्फी दवाव परेको थियो । तर, आम सुझाव र दवावलाई वेवास्ता गर्दै सरकारले अध्यादेशबाट पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने भएको छ ।