सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ

काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्।

उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको खबर आएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । यसअनुसार उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी छिन्।

यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन्।

पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेको छैन ।