युवाहरुको काँधमा मुलुकको कार्यभार

वर्तमान राजनैतिक घटनाक्रम दुर्घटना उन्मुख भए तापनि यसले एउटा अवसर भने पक्कै बोकेर ल्याएको छ । जसले युवाहरुको काँधमा मुलुकको नेतृत्व गर्ने नयाँ कार्यभार थपिदिएको छ । अहिलेको राजनैतिक परिवेशले सिद्ध गर्न खोजेको तथ्य नै यहि हो । तथापि मुलुकको नेतृत्व युवाहरूसंग पुग्न सहज छैन । युवाहरूले आफ्नो राजनैतिक विवेक एवम् रणनीतिक क्षमताको उपयोग गर्दै विविध संघर्षहरुको बलमा चुनौतीहरुको सामना गर्नुपर्ने हुनसक्छ । सर्वप्रथम त वर्तमान राजनैतिक घटनाक्रमलाई दुर्घटना हुनबाट जोगाउनु र दुर्घटना भइहालेको अवस्थामा त्यसको जोखिम न्युनिकरण गर्नु पहिलो चुनौती हो ।

वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलिको अहिलेसम्म को कुकृत्यको मुल्यांकन गर्ने हो भने उनको घोषणा गरेको निर्वाचन हुने हो कि होईन भन्ने अन्यौलता आफैंमा छ । यदि तोकिएको समयमा निर्वाचन नहुने हो भने मुलुक पुनः द्वन्द्व र अन्धकारमा धकेलिनेछ । फेरि सत्ताको लागि अनेक कुकर्म गर्ने व्यक्तिको नेतृत्वमा भएको निर्वाचनको निश्पक्षतामा समेत गम्भीर प्रश्न चिन्ह खडा हुन्छ । तसर्थ, अब हुने भनिएको निर्वाचनको खुलेर स्वागत गर्दै युवाहरूले निश्पक्ष चुनावको लागि आ(आफ्नो तहबाट विशेष कदम उठाउन आवश्यक छ ।

निर्वाचनका क्रममा हुने दलिय शक्ति प्रदर्शन र हस्तक्षेपको डटेर विरोध गरौं । यस्ता किसिमका गलत प्रवृति गर्नबाट बंचित गरौं । दलहरूले निर्वाचनका क्रममा सर्वाधिक उपयोग गर्ने जनशक्ति युवाहरू नै भएकोले यो संभव छ । युवाहरुले आफ्नै स्वतन्त्र मोर्चा तयार गरेर निर्वाचनको उपयोग गरौं, सबै तहमा युवा उम्मेदवार खडा गरौं । निर्वाचनमा विजयी भए राज्यसंरचना र राज्यव्यवस्थालाई सुधार गरौंला, पराजित भए हाम्रा सन्ततिको लागि एउटा उत्कृष्ट सन्देश छोडौंला । तर अब ढिला नगरी नयाँ आधार तयार गरौं ।

दोस्रो, वर्तमान संसदीय अभ्यास नै असफल भइसकेको अवस्था छ । मुलुकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थाको माग गरेको छ । संविधान निर्माणका क्रममा करिब ८० प्रतिशत जनताको चाहना नै यहि थियो । तथापि दलहरुको लाचारी र हठका कारण त्यो उपलब्धि हासिल गर्न सकिएन । त्यसलाई सच्याउनु पनि चुनौतीपुर्ण नै छ ।

सबै तहका निर्वाचन र सबै निर्वाचन क्षेत्रमा युवा उम्मेदवारहरुलाई विजयी गराउन देशव्यापी पहल गरौं । एउटा सशक्त मुभमेन्ट संचालन गर्दै यसलाई सफल बनाउन सकिन्छ । निर्वाचनमा हुने दलिय भ्रष्टाचार रोकिन्छ, जसले आर्थिक रुपले मुलुकलाई फाइदा पुग्छ भने संविधानमा देखिएका सम्पुर्ण त्रुटिहरुलाई सच्याउन सकिन्छ । राज्यव्यवस्थालाई वर्तमान भ्रष्ट संसदीय व्यवस्था बाट मुक्त गरौं । प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र संसद मन्त्री बन्ने व्यवस्थालाई खारेज गरौं । राजनैतिक व्यवस्थालाई युवाहरूको हितमा हुनेगरी निर्माण गरौं । संविधान संशोधन गर्दै राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री बन्न राखिएको उमेरहदहरु खारेज गरौं । साथै, युवा नेताको गलत परिभाषालाई पनि सच्याऔं ।

तेस्रो, केही राजनैतिक दलहरूका क्षणिक मोहमा फसेँका युवाहरूलाई त्यस मोहबाट बाहिर निकाल्नु पनि ठुलो चुनौतीको रूपमा नै रहन्छ । संरक्षण, आरक्षण, नातावाद, कृपावादका तमाम जालोका रेसाहरुले उनिहरुलाई अल्झाइरहन्छ । त्यस्ता मोहका जालोहरु चुडाउनु र चेतनाको उच्चतम विकास गर्नु अतिआवश्यक छ । सबैभन्दा जटिल विषय नै यहि हो । मुलुक दुर्भाग्यपूर्ण दलदलमा फस्नुको प्रमुख कारण युवाहरू राजनैतिक दलको कार्यकर्ताको रूपमा मात्रै सिमित रहनु हो । युवाहरूमा विद्यमान जोश, जाँगर र क्षमता अरुलाई नेता बनाउन मात्रै सिमित रह्यो । अनि त्यहि नेताहरूको राजनैतिक कवचमा मुलुक माथि दादागिरी लाद्ने, प्राकृतिक स्रोतसाधन माथि लुट मच्चाउने, राज्यको सम्पत्ति माथि भ्रष्टाचारको चाङ बिछ्याउने मात्रै गरियो ।

यसलाई बदल्न स्वार्थले भरिएको त्यस्ता युवाहरूको मस्तिष्कमा चेतनाको उतम विकास गर्न आवश्यक देखिन्छ । उनीहरुले व्यक्तिगत स्वार्थ र लाभको लालच त्याग्न सक्ने हो र निर्वाचनमा विवेक पुर्याउने हो भने मुलुक समृद्ध हुन धेरै समय लाग्दैन भन्ने बुझाउन जरुरी छ । अहिले मतदाता हुन उमेर पुगेका युवाहरूको मस्तिष्कमा राजनीति प्रती ठूलो वितृष्णा पैदा भएको छ । जुन स्वाभाविक पनि हो । किनभने हाम्रो हिजो देखिको सामाजिक शिक्षाले नै राजनीतिलाई सिमित व्यक्ति र सिमित व्यक्तिको परिवारको पेवा हो भन्ने चेतना विकास गरिदिएको छ । राजनीति एउटा दुर्गन्धित तलाउ मात्रै हो, त्यसमा पौडी खेल्न हुन्न है भन्ने शिक्षा परिवार देखि नै दिन शुरु गरियो । तर राजनैतिक तलाउ फोहोर भएको छ, यसलाई सफा गर्ने जिम्मेवारी अब तिम्रो काँधमा आएको छ है भनेर शिक्षा दिन सकिएको भए आज मुलुक युवाहरूको नेतृत्वमा पुगिसकेको हुन्थ्यो ।

सन्तानलाई राजनीति गर्नु हुन्न भनियो तर उमेर पूरा भइसकेपछि जबर्जस्त उनीहरुको चेतनामा आफ्नो झुकावको चुनाव चिन्हलाई स्थापित गरिदिनु अभिभावकहरुको गम्भीर राजअपराध हो । जसको सजाय तिनै सन्तानहरुले भोलीका दिनसम्म भोग्नुपर्ने छ । चौथो, युवाहरुको एकीकृत मंच निर्माण गर्नु चुनौतीपूर्ण सपना हो । आन्तरिक एवम् बाह्य विविध शक्तिहरूले यसमा राजनैतिक हस्तक्षेप गरेर तुहाउन, टुटाउन, फुटाउन अनेक प्रयास गर्नेछन् । युवाहरूमा त्यसको विरुद्धमा लढ्न सक्ने साहस र असीमित धैर्यताको कम्बिनेसन निर्माण गर्नुपर्ने हुन्छ ।

यो सत्य हो कि यो एउटा सपना मात्रै हो । यद्यपि यो अस्वभाविक, असंभव भने पक्कै पनि होईन । युवाहरूले चाहने हो भने एउटा एकीकृत शक्ति निर्माण गरेर यसलाई मुलुकको हितमा प्रयोग गर्न सकिन्छ । परम्परागत र कर्मकाण्डिय राजनैतिक दलहरु र तिनका उमेदवारहरुलाई पराजित गर्न सकिन्छ । राजनैतिक दलहरुका स्वार्थको अन्त्य गर्दै जनताको साझा एजेन्डाहरुलाई स्थापित गर्न सकिन्छ । सिमित व्यक्तिहरु र चिन्हहरुले जित्ने परिपाटीको अन्त्य गर्दै जनताको वैज्ञानिक एजेन्डाहरुले जित्ने व्यवस्थाको शुरूवात गर्न सकिन्छ । यो प्रक्रियाले अवश्य केही समय लिन सक्छ । समयको त्यो बिन्दुसम्म पुग्न हामीमा महान साहस र धैर्यताको आवश्यक पर्दछ । किनभने त्यो समयमा प्रतिक्रियावादी एवम् यथास्थितिवादी आन्तरिक एवम् बाह्य शक्तिहरुले विभिन्न कठोर एवम् निर्मम प्रहारको दुस्साहस गर्नेछन् ।

यद्यपि गतिशीलताको नियमले यसलाई प्रमाणित गरिदिन्छ कि राजनैतिक धार समयले आफैं बदल्दै, मन्थन गर्दै, छान्दै अगाडि लैजान्छ । तर युवाहरूको भुमिका भनेको मन्थन गरेर छानीएका विष, फोहोरहरुलाई डिस्पोजल गर्नु र त्यसबाट निस्कने अमृतले मुलुकलाई सिंचित गर्नु हो । अहिलेको राजनैतिक घटनाक्रमले वर्तमान राज्यव्यवस्थालाई नै फलाम झै रातो हुने गरि तताएको छ, यसलाई एकीकृत मजबुत बलले हिर्काउने हो भने युवाहरूको आवश्यकता बमोजिमको आकारमा आउँछ । तर व्यवस्थामा लागेको खिया र टुक्रिएर गएका कणहरुको चिन्ता लिन थाल्यौं भने यिनिहरुले हाम्रो विकसित चेतनामा पुनः जबर्जस्त लोभ, ईर्ष्या, भय, पीडा जस्ता अवगुण विकास गर्न खोज्नेछन । तसर्थ, युग बदल्न तयार हामीले हाम्रो मानसिकतालाई व्यक्तिगत माया(मोहबाट टाढा राख्दै सामुहिक एवम् सामाजिक हितका निमित्त प्रयोग गरौं ।

पाचौं, सामाजिक अभियन्ताहरुको रूपमा देखिएका युवाहरूलाई समेट्न अथवा उनीहरुलाई मुलुकको राजनीतिमा भित्र्याउन पनि चुनौती देखिन्छ । सामाजिक अभियन्ताहरुमा दम्भ, हठ र अराजक प्रवृति जुन छ, त्यो कायम रहिरहने हो भने मुलुकको नेतृत्व गर्ने स्थानमा पुग्दा जोखिमयुक्त नै रहन्छ । यसको कारण भनेको सामाजिक अभियन्ताहरुमा पनि विद्यमान राजनैतिक दलहरु प्रतिको झुकाव नै हो । यसले राजनैतिक दलहरुको गलत क्रियाकलापहरुको विषयमा समेत आफू अनुकुल व्याख्या गर्ने शैली छ । जुन युवाहरूको माझमा लोकप्रियता कमाएका अभियन्ताहरुलाई पनि विश्वास गर्ने आधार दिदैन । उनिहरु आफैंमा समेत एकअर्का प्रती आरोपप्रत्यारोप गर्ने , एकअर्कालाई खुइल्याउने र आफैं नै सबैथोक हो भन्ने जस्तो दम्भ र हठको मिश्रण पक्कै पनि सुखद पक्ष होईन ।

उनीहरुको व्यक्तिगत जीवनशैली र बेलाबेलामा चर्चामै आउन गर्ने गलत कार्यहरुको कारण उनिहरुमा राजनिती प्रति अपरिपक्वता देखाउछ । अब उनिहरुले पनि आफ्नो व्यक्तिगत कुण्ठा, हठ, दम्भ र अराजकता त्यागेर मुलुकलाई राजनैतिक द्वन्द्वबाट बचाउन आवश्यक सहयोग गर्ने, युवा नेतृत्व अगाडि ल्याउन पहल गर्ने, आवश्यकतामा आफैं नेतृत्व गरेर अगाडि बढ्नुपर्छ । राजनीति प्रती वितृष्णाको आवाज उठाउने मात्रै होईन अब हाम्रो जिम्मेवारी र जवाफदेहीता यसबाट मुलुकलाई निकास पनि दिनु हो भन्ने बुझ्न जरुरी छ । युवा सामाजिक अभियन्ताहरुलाई पनि मुलुकको नेतृत्व गर्ने राजनैतिक लाईन समेट्नु पर्ने बाध्यकारी आवश्यकता रहेको छ । किनभने वर्तमान परिप्रेक्ष्यमा उनिहरुसंग युवाहरूको एउटा ठूलो जमात छ( जसले राजनैतिक दलहरुको गलत रवैयाका विरुद्धमा धावा बोलेर मुलुकलाई निकास दिनसक्दछन ।

विदेशमा भएका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा मतदान गर्न पाउने आधार तयार गरेर स्वतन्त्र युवा मोर्चाको निर्माण गर्दै यस युगलाई एउटा विशेष सन्देश दिन जरुरी छ । यसका लागि राजनैतिक दलमा आवद्ध युवाहरूले एउटा महान त्यागको साहस राख्नुपर्छ भने हालसम्म स्वतन्त्र रहेका युवाहरुले पनि मोर्चाको उद्देश्य र औचित्यलाई स्विकार्दै सामेल हुनुपर्दछ । नेपालले खोजेको राजनैतिक निकासको समाधान यसरी गर्नसक्ने हो भने सबैभन्दा उत्तम विकल्प यहीँ हुन्छ । तर वर्तमान राजनैतिक दलहरूको कुकार्यका कारण सिर्जित समस्या समाधानका निमित्त दलहरुले जनतासंग माफी माग्दै युवा मोर्चालाई सहयोग गरि अभिभावकत्व निर्वाह गर्नुपर्छ । यसले मुलुकलाई अवश्य अग्रगामी दिशाको यात्रामा लैजानेछ ।