जेठ १५ अगावै प्रधानमन्त्रीले विश्वासको मत लिदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।
‘अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्दैन भन्ने कुरामा प्रधानमन्त्रीज्यू प्रष्ट हुनुहुन्छ, त्यसैले बजेट अगावै विश्वासको मत लिने प्रयास हुन्छ’, एमालेका एक शीर्ष नेताले भने, ‘तपाई हामी यहाँ कुरा गर्दा गर्दै राष्ट्रपतिबाट संसद आह्वान हुनसक्छ ।’जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । बजेट भन्दा अगाडी सरकारका नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । सरकारले संसद अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिश गरिसकेको र आज भोलिमै संसदको अधिवेशन आह्वान हुने ती नेताले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार राति राष्ट्रपति विद्या भण्डारीलाई भेट गरेका थिए । गत वैशाख २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिने प्रयास गरेपनि विश्वास प्राप्त गर्न सकेका थिएनन् ।त्यसको ४ दिनपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
यसपटक पनि विश्वासको मत लिन प्रयास गरिने ती नेताले बताए । ‘२०५१ सालमा मनमोहन अधिकारी सरकारलाई कांग्रेसले समर्थन गरेको थियो, के थाहा यसपटक पनि समर्थन गरेर विश्वास प्राप्त भइहाल्छ कि ?’ उनले भने ।
विश्वासको मतको लागि प्रधानमन्त्री ओलीले गृहकार्य गरिरहेको उनले बताए । एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षले भोट दिएमा ओलीले विश्वासको मत लिन सक्छन् । यसअघि एमालेका २८ सांसद विश्वासको मत दिने बैठकमा अनुपस्थित भएका थिए ।‘प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने फेरि अर्को प्रक्रिया शुरु होला,’ ती नेताले भने ।