कमलबजार नगरपालिकामा भुसको आगो झै फैलिदै ‘कोरोना’

अछाम, अछामको कमलबजार नगरपालिकामा कोरोना संक्रमण भुस भित्रको आगो झै फैलिरहेको छ। नगरपालिकामा बिहिबार मात्रै थप ८० जनामा कोरोना पुष्टि भएको हो।

तस्बिर : कमलबजार

कमलबजार नगरपालिकाको पिसिआर परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा १८ महिला ६२ पुरुष गरी ८० जनामा कोरोना पुष्टि भयो। आज जिल्लाभर देखिएको कोरोना संक्रमितको संख्या मध्य करिब ५० प्रतिसत भन्दा बढी संख्या कमलबजारकै रहेको छ। हालसम्म नगरपालिकामा करिब ३ सय ६१ जनाको पिसिआर परिक्षण गरिएकोमा २ सय ७१ जनालाई पोजेटिभ देखाएको छ।

यो संख्या हेर्दा पछिल्लो समय कमलबजार नगरपालिका लगायत जिल्लाका अधिकाशं ठाउँमा संक्रमण दर समुदाय स्तरमा तिब्र रुपमा फैलिरहेको अनुमान लगाउन सकिन्छ।

संक्रमण पुष्टि भएका अधिकांश जनता घरमै आईसोलेसनमा बसिराखेका छन् । तर, त्यो भन्दा कैयौं गुणा ठुलो संख्या पिसिआर जाँच बिना नै घर-घरमा रहेका देखिन्छन् । नगरपालिकाले प्रत्येक गाउँ र टोलमा गएर परिक्षणको दायरालाई बढाउने हो भने ठुलो संख्यामा संक्रमित भेटिने निश्चित छ।

सिङ्गो नगरपालिका तथा त्यो भित्र पर्ने वडाहरूको स्थिति हेर्दा संक्रमण भुसको आगो झै फैलिदै छ। नगरपालिकाले केही संख्यामा सामान्य पिसिआर परिक्षण गर्ने बाहेक कोरोना नियन्त्रणको लागि त्यस्तो केही ठोस योजना आजसम्म पनि बनाएको छैन्। यसले पनि दिनप्रतिदिन कोरोना संक्रमण बढदो अवस्थामा छ।

नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरू अझै निन्द्रामै छन्। आफ्नो क्षेत्रका जनतालाई जस्तोसुकै कठिन परिस्थितिमा पनि सक्दो सेवा गर्ने कसम खाएर गएका निर्बाचित जनप्रतिनिधिहरू जितेर गैसकेको पछी बिगतका दिन झै फर्केर नहेर्ने गरेको गुनासो कमलबजार नगरपालिका-६ का एक स्थानीयले गुनासो गरे । यस्तो महामारीको विषम परिस्थितिमा जितेर गएका सांसद, मेयर, अध्यक्ष लगायतका जनप्रतिनिधिले जनताप्रति कुनै पनि उत्तरदायित्व वहन नगर्दा आफुले उनिहरूलाई दिएको मतप्रति लज्जाबोध भैराखेको पनि उनले बताए।

कोरोना महामारीसंग लडन नगरपालिकाका सबै वडाहरूमा सचेतनामुलक अभियान सन्चालन गर्नुपर्छ। सवै वडामा गएर स्थानिय जनतालाई स्वास्थका आबस्यक मापदण्ड सिकाउने र पालना गर्न लगाए मात्र कोरोना संक्रमण दरलाई केही हदसम्म भएपनि नियन्त्रण गर्न सकिने जानकारहरू बताउछन्।

कोरोना आक्रमणको दोस्रो लहर भनिएको महाव्याधिले देशको अधिकांश भाग संगै अछाम जिल्लालाई पनि लपेटिसकेको छ । यो फैलावट दैनिक दिन बढिरहेको छ । एकातिर संक्रमण गाऊँ–टोल र सम्भवतः घर–घर फैलिईरहेको छ भने अर्कोतिर अस्पतालमा भर्ना भएका बिरामीहरुले अक्सिजनको अभावका कारण अकालमा ज्यान गुमाउनु परिरहेको देशैभरको कहालिलाग्दो स्थितिलाई मध्यनजर गर्दै जनप्रतिनिधि र सरोकारवालाहरूले आवस्यक समन्वय गरी महामारी बिरुद्ध लडन ठोस योजना निर्माण गरेर अघाडी बढनुको अर्को बिकल्प छैन्।