एकसाता हिमाल आरोहण बन्द
काठमाडौं,जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ।हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ(ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ।
नेपाल प्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् वरुण पौडेलले चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको बताए।पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताए।
पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भैरहेको बताइन्।नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन सुरु हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको पौडेलले बताए ।
सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ।नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।
हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु¥याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ।यसपटकको चक्रवातको नाम ‘ताउ(ते’ राखिएको छ । म्यानमारको भाषाको यसको अर्थ ‘माउसुली’ भन्ने हुन्छ ।