आफूपक्षीय नेतासहित ओली र नेपालबीच सिंहदरबारमा वार्ता

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ । कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको भेटमा दोस्रो तहका नेताहरु समेत सहभागी छन्।

भेटमा ओली पक्षबाट उनीसहित विष्णु पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु रिमाल सहभागी छन्। नेपाल पक्षबाट उनीसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन्।

ओली र नेपालबीच बिहीबार सकारात्मक छलफल भएको थियो। उनीहरुको छलफलपछि नै नेपाल पक्षीय सांसदहरुले गर्ने भनिएको राजीनामा रोकिएको थियो।

ओली र नेपालबीच कार्यदल बनाएर पार्टीभित्रको विवाद समाधान गर्ने सहमति समेत भएको थियो। आजको भेटमा सहभागी नेताहरु नै कार्यदलमा रहने भनिए पनि यसलाई औपचारिकता दिइएको छैन।

नेपाल पक्षले २०७५ जेठ २ गतेको संरचनामा पार्टीलाई लैजानुपर्ने अडान लिएको छ। ओली पक्षले भने कार्यदल बनाएर समाधान खोज्ने प्रस्ताव राख्दै आएको छ।