वर्तमान संकट हल गर्न राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने बताए छन् । त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोग/मुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उनको भनाइ छ । त्यस्तै यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने पनि भट्टराईको भनाइ छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेकी छिन् । तर प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्‍याउन कठिन भएको हो ।

ठाकुर–महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन । कांग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।