संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ। सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश गर्न दिइएको छ।

पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन्।संसदको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ ।संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ।यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपाध्यक्ष,सांसद,कर्मचारी,संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो। रिपोर्ट पोजेटिभ आएकाहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ।