देउवासँगको छलफलपछि जसपाका ठाकुर र महतो पुगे बालुवाटार

काठमाडौँ,जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

आइतबार बिहान बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा भेटवार्तापछि ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

सोमबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । जसपामा ठाकुर र महतो पक्ष ओलीको विश्वास मतको पक्षमा रहेको छ । तर, पछिल्लो समय एमाले नेता माधव नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेसँगै समिकरण फेरबदल हुन सक्ने भएकोले जसपाभित्र कसलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने पक्षमा छन् ।