भारतका पाँच राज्यमा मतगणना जारी

नयाँ दिल्ली,भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी रहेको छ।चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ ।

यसपटक पश्चिम बङ्गाल,असम,केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको थियो।सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ।

मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्रिणमुल कङ्ग्रेसले १७७ तथा भारतीय जनता पार्टीले १०९ स्थानमा अग्रता बनाएका छन् । लामो समय शासन गरेको कम्युनिष्ट पार्टी माक्र्सवादी समेतको गठबन्धनले ४ स्थानमा अग्रता बनाएको छ।यस्तै २३४ सिट रहेको तमिलनाडूमा डिएमकेको गठबन्धनले १४१ स्थानमा अग्रता बनाएको छ भने एआइएडिमकेले ८७ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, १४० सिट रहेको केरलामा एलडिएफले ८० तथा युडिएफले ४८ स्थानमा अग्रता बनाइरहेका छन्।

असम राज्यमा भने सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धन (एनडिए) अग्रस्थानमा छ। कूल १२६ सिट रहेको असममा एनडिएले ७४ र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन (युपिए) ले ५२ स्थानमा अग्रता बनाएका छन्।यस्तै ३० सिट रहेको पुडुचरीमा एनडिएले १५ र युपिएले ८ स्थानमा अग्रता बनाएका छन्।मतगणनाको अन्तिम नतिजा आजै साँझसम्ममा प्राप्त हुने अनुमान गरिएको छ ।