लकडाउनको वेला सुर्खेतमा वजार अनुगमन

सुर्खेत,कोरोना संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा यही वैशाख १५ गतेबाट लकडाउन जारी गरिएको छ। निषेधाज्ञा २१ गते राति १२ बजेसम्म रहने छ। निषेधाज्ञा वेला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तिव्रता दिएको छ।शनिबार स्वास्थ्य संस्था,खाद्यान्न पसल,तरकारी पसल,सब्जीमन्डी गरी १३ वटा पसलको अनुगमन गरिएको छ।सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा अनुगमन गरिएको हो।

निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने,कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने कार्य हुने भएकाले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महतले बताएका छन्।उनले मेडिकलमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री–दर लगायतका बारेमा बुझ्ने गरेको समेत बताए।अनुगमनका क्रममा विशेष गरी तेल,पिठोको मूल्य वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले जानकारी दिए । उनले दैनिक उपभोग्य वस्तु ल्याएको कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वभाविक मूल्य वृद्धि गराएको पाइए कारबाही पनि गरिने चेतावनी दिएका छन्।

यसका साथै व्यापारीलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्री–वितरण गर्न सुझाव दिए । उनले तरकारी(मन्डी तथा खाद्य पसल व्यापारीलाई दैनिक रूपमा उपभोग्य वस्तु तथा तरकारीको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन्।निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने हुँदा बाँकी अन्य दिनमा पनि निरन्तरता दिइने बताएका छन्। महतको नेतृत्वमा यस अघि पनि वीरेन्द्रनगर बजार क्षेत्रमा वेला वेला अनुगमन भइरहेको थियो।