कारोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

काठमाडौं,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन्।

मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिइन्। मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरिन्।

अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याइन्।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन् ।