निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना कैद

बुटवल,रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना जेल चलान भएका छन्।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले बिहिबार ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये चार जना पुरुषले भने नौ हजार एक सय रुपैयाँ र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटेका थिए।

बाँकी ३ जनाले सो जरिवाना तिर्न नसकेका कारण जेल चलान भएका हुन्।जेल चलान हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। तीनजना एक महिनाका लागि कैद भएका छन्।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो।कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।