वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौँ,सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ। कारोनाको नयाँ भेरियन्टहरू देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरूलाई भौतिक उपस्थिति नभई भर्चुअल रूपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ।

सरकारले कारोना नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्लाभित्र निषेधाज्ञा जारी गर्नेलगायत सम्पूर्ण अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।प्रमुख जिल्ला अधिकारीले सोही अधिकार प्रयोग गरी पहाडी र हिमाली जिल्लाको हकमा दुई सय र काठमाडौं उपत्यका र तराईका जिल्लाको हकमा पाँच सयभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेको अवस्थामा जिल्लाभरि वा कुनै भागमा निषेधाज्ञा वा अन्य कुनै कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालनलगायत नियन्त्रण गर्न आवश्यक निषेधाज्ञा जारी गर्न सक्नेछन्।

प्रमुख जिल्ला अधिकारीले आवश्यक परेको खण्डमा स्थानीय प्रशासन ऐन, २०१९ले दिएको अधिकार पनि प्रयोग गर्न सक्नेछन्। हवाई र स्थलमार्ग हुँदै नेपाल आउने भारतीय नागरिक र चिनियाँ नागरिकलाई स्वाब संकलन भएको ७२ घन्टाभित्रको कोभिड नेगेटिभ रिपोर्टसहित १० दिनको होटेल क्वारेन्टिनमा बस्ने गरी प्रमाण पेस गरेको अवस्थामा प्रवेश अनुमति दिइनेछ । हवाईमार्गबाट नेपाल प्रवेश गर्ने नेपालीको हकमा पनि सोही नियम लागू हुनेछ । सरकारले सो अवधिमा अत्यावश्यक सेवा दिनुपर्नेबाहेक अन्य कार्यालयमा आलोपालो गरी कामकाज गर्न गराउन भनेको छ।

नेपाल–भारत स्थलगत सीमामार्गहरूनजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र त्यसका लागि सरकारले जग्गा र अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा दिने भनिएको छ । सरकारले कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिन्डर हुने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।