कर्णालीमा तीन मन्त्री पुनः सपथ खाँदै

सुर्खेत,फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका तीनजना मन्त्रीले पुनः सपथ खादैछन्।यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले दिउँसो एक बजे सपथ खाने कार्यक्रम तय भएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए।

स्रोतका अनुसार नेकपा एमालेले सांसद पदबाट कारवाही गरेसँगै मन्त्रीबाट पदमुक्त भएका ३ जनालाई शपथ गराउने कार्यक्रम रहेको छ।शपथ ग्रहण गर्नेहरुमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रालयमा अमर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही रहेका छन्।

सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले नेकपा एमालेका चार जना सांसद कारबाही गरेको जानकारी गराएपछि उनीहरु सांसदबाट पदमुक्त भएका थिए।कर्णालीमा फ्लोर क्रस गरेर नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए । जसमध्ये तीन जना मन्त्री भएका छन् । उनीहरुले मन्त्रीमा नियुक्तको भएको ११ दिनपछि पुनः शपथग्रहण गर्ने भएका हुन्।