कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत,कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतमा दुई र दैलेखमा एकजना गरि तिनजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले वताएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिएका छन्।आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा। केएन पौडेलले बताए। पौडेलका अनुसार एक हप्तादेखि दुवैजना आईसीयूमा उपचाररत थिए।

यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए।कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको निर्देशनालयले जनाएको छ ।