एमालेका तीन केन्द्रीय नेतामा कारोना पुष्टि

प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। कारोना पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्।स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा कारोना पुष्टि भएको छ।

 

रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए।उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ।भट्टराई र रिजाल भने होम आइसोलेसनमा रहेका छन्।वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो।रिजाल र भट्टराईले मंगलवार आफूहरू संक्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै संक्रमण पुष्टि भएको थियो।

यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ।रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए।संक्रमण पुष्टि भएका तीनै जना नेता धेरै जनसम्पर्क भएका र शीर्ष नेतृत्वसँग बाक्लै भेटघाटमा रहनेमा पर्छन् । एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र प्रभा कोइरालालाई पनि संक्रमण पुष्टि भएको छ ।