गण्डकीका तीन सांसदलाई कोरोना पुष्टि

मतदान गर्न पाइने बोल्न नपाइने

काठमाडौँ,गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तीन जना सांसदलाईकारोना देखिएको हो।नेकपा एमालेका दुई र नेपाली कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। जसमा एमालेका राजिव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङ रहेका छन्।

यस्तै, प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि संक्रमण देखिएको बताइएको छ।मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका सत्तापक्षकै सदस्यले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेपछि प्रदेशसभा स्थगित भएको थियो।त्यसपछि सबै सांसद एवं संसदका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो।

सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ । संक्रमण देखिएका सांसदले आजको बैठकमा हुने अविश्वासको प्रस्तावमाथि मतदानमा सहभागी हुन पाइने र बोल्न नपाइने जनाइएको छ।प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई साथ दिएको भन्दै जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन्।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८ जना सांसद छन्। एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।