पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार पूर्वराजा दम्पतीको श्वास्थ्यको विषयमा विज्ञप्ती निकालेर जानकारी गराएको हो।

कोरोना संक्रमित भएपछी पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन।उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनीहरु तीनै जनामा केही दिनअघि कोरोना पुष्टि भएको थियो।