विभेद भयो निषेधाज्ञाको निर्णय अवज्ञा गरिन्छः यातायात व्यवसायी

काठमाडौं,अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशयी भएको भन्दै सरकारले यो पटक जारी गरेको निषेधाज्ञा अवज्ञा गरिने यातायात व्यवसायीले बताएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वःस्फूर्त अवज्ञा हुने बताए।

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेक सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ। महासचिव सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे।

हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारी साधन चलाउन दिनुपर्ने उनले माग गरे।सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए।सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ।यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन्।