१५ दिन निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौँ,सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर जिल्लाहरूलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित संख्या हेरेर जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि उपत्यकामा एक साता मात्रै निषेधाज्ञा जारी गरे पनि सरकारले त्यसलाई लम्ब्याएर कम्तीमा १५ दिन निषेधाज्ञा लागु गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।‘१५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन, सातदिन पनि गर्न सक्छन् । तर, १५ दिन अधिकतम सीमा हो। त्यसैले निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई दिइएको हो’ ती मन्त्रीले भने।

अब उपत्यकाका जिल्लाहरुको निषेधाज्ञाको अवधि पनि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ। वैशाख २२ गते मध्यरातिसम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म लम्बिनेछ।पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २०० र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५०० पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन्।

योसँगै आज बिहानैदेखि काठमाडौं उपत्यका छाड्नेहरुको लर्को लागेको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको छ। ट्राफिक प्रहरीका अनुसार अघिल्ला दिनहरुको तुलनामा ठूलो संख्यामा यात्रुहरु बसपार्कहरुमा जम्मा भएका छन्।अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।