गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै

काठमाडौँ,गण्डकी प्रदेश सभामा विशेष अधिवेशन सुरु हुँदैछ।आफूविरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आजबाट विशेष अधिवेशन तय गरेका हुन्।

दिउँसो २ बजे बस्ने पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने कार्यसूची रहेको छ।मुख्यमन्त्री गुरूङविरूद्ध वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ।

जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई साथ दिएको भन्दै प्रदेश सरकारको साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन्। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८ जना सांसद छन्। एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।