स्वास्थ्य मापदण्ड जारी भएको भोलीपल्टै प्रधानमन्त्रीद्वारा उल्लंघन

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन्।मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो।

उक्त रमझम थियो, प्रधानमन्त्री ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम(सीताका मूर्ति हस्तान्तरणका लागि । मूर्तिलाई प्रधानमन्त्री ओली तथा धर्मपत्नी राधिका शाक्यले मन्त्री भानुभक्त ढकाल,शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बाजागाजासहित पूजा अर्चना गरेर हस्तान्तरण गरेका थिए । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍यालीमा सय जना भन्दा बढी सहभागी थिए।

तर, प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना सङ्क्रमण बढेसँगै जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको थियो । जसमा मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने पनि मापदण्ड तय भएको थियो।

सो मापदण्ड सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उल्लंघन गर्नेहरुलाई कानूनी कारवाही गरिने चेतावनीसमेत दिएका थिए । तर, त्यसको भोलिपल्ट नै प्रधानमन्त्री ओलीले मापदण्डको ठाडो उल्लंघन गरेका छन् । योसँगै प्रधानमन्त्री ओलीलाई कारबाही हुन्छ की हुँदैन भन्ने सर्वसाधारणको चासो छ ।