भेरी अस्पतालमा तीन घन्टामा तीन कारोना संक्रमितको मृत्यु

नेपालगन्ज,बाँकेमा गएराति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीनजना संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका– १ बर्दियानिवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो। त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका– ८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भयो।गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गएराति ७ः४० बजे उनको मृत्यु भएको हो।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका– १ दैलेखनिवासी ६८ वर्षीया महिलाको पनि गएराति नै निधन भएको छ।गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरी उपचार गराइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९स्३० बजे उनको मृत्यु भएको कोरोना स्रोतव्यक्ति वलीले बताए।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्लानिवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ।