यसरी जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले सदनवाट विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार फेरि जोगिएको छ । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरे ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले कुल ३७ मतमध्ये २२ मत प्राप्त गरि विश्वासको मत प्राप्त गरेका छन् । तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको सरकारमा माओवादीको भागमा कर्णालीमा मुख्यमन्त्री परेको थियो । एकता प्रक्रिया पुरा नहुँदै सर्वोच्य अदालतले माओवादी केन्द्र र एमाले विचको एकता अगल गरिदिएपछि मुख्यमन्त्री शाहीलाई दिएको विश्वासको मतबाट एमाले बाहिरिएको थियो ।

तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै शाहीकाे सरकारलाई जोगाइदिएका छन् । यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए । तर, माधव नेपाल पक्षमा रहेका ४ सांसदले ह्वीप उल्लघंन गर्दै शाही सरकार जोगाइदिएका हुन् ।

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।