कर्णालीमा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

सुर्खेत,नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ।प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो।

आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे विनानिष्कर्ष टुङ्गिएको र पुनः बस्ने कांग्रेसका एक सांसदले जानकारी दिए । ‘बैठक विनानिष्कर्ष टुङ्गिएको छ, संसद बैठक बस्नु अगाडि नै फेरि बस्छौं,’ ती सांसदले भने।आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ।

यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ।आजको बैठकमा मुख्यमन्त्री शाहीले संसदबाटै विश्वासको मत लिने र यही सरकारले निरन्तरता पाउने माओवादी सांसदको दाबी छ । एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने माओवादीको अपेक्षा छ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्यमध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ।बहुमतका लागि एमालेसँग सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।