कर्णालीका मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत ?
सुर्खेत,कर्णाली प्रदेशसभा बैठक आज वस्ने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।प्रदेश सभा सचिवालयका सुचना अधिकारी उपेन्द्रकुमार गुरुङले बैठकमा २ वटा अध्यादेश पेश गर्ने र सभामुखले प्रदेशसभा सदस्य धर्मराज रेग्मीको पद रिक्त भएको जानकारी गराउने बताए।
त्यसपछि अर्को चरणमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन्। यसका लागि सत्तारुढ नेकपा माओवादीको हिजो बसेको दलको बैठकले आफ्नो पार्टीको नेतृत्वमा सरकार टिकाई रहन विश्वासको मत लिने निर्णय गरेको थियो।सोहि अनुसार नै मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। ४० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सदस्यको विश्वासको मत लिन २० जना सांसद आवश्यक पर्छ। तर माओवादीकै सांसदको संख्या भने १२ जना मात्रै छ। त्यसमध्ये १९ जना नेकपा एमाले, ६ जना कांग्रेस र १ जना राप्रपाका सांसद छन्। मुख्यमन्त्री शाहीले कांग्रेस राप्रपासहित नेकपा एमालेको असन्तुष्ट पक्षबाट विश्वासको मत पाउने आशा राखेका छन्।
माओवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो। नेकपा माओवादी केन्द्रकी सचेतक सीता नेपालीले वर्तमान सरकारलाई विश्वासको मत दिन सार्वजनिक अपिल गरेको बताईन् । कर्णालीको समग्र विश्वासका लागि वर्तमान सरकारलाई बहुमत प्रदेशसभा सदस्यले मत दिने उनले विश्वास व्यक्त गरिन्। थाहा खबरसँग कुरा गर्दै सचेतक नेपालीले भनिन्, ुराजनीतिमा जे पनि हुन्छ, हामीले विश्वासको मत लिन्छौ, सोहि अनुसार नै यो प्रक्रिया अघि बढेको हो।
उनले घुमाउरो शैलीमा एमालेको असन्तुष्ट पक्ष नेपाल समूहले पनि विश्वासको मत दिने संकेत गरिन्। तर यता नेकपा एमालेले माओवादीको यो निर्णयलाई जसरी पनि असफल बनाउने गरि निर्णय लिने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसका लागि बिहान ११ बजे दलको बैठक बोलाइएको जानकारी दिए। यता एमालेको नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा मुख्यमन्त्रीको छ। तर सचेतक शाह यस्तो नहुने बताउछन्। ुहामीले विश्वासको मत दिने निर्णयलाई जसरी पनि असफल पार्छौ, एमालेका सांसदहरुले फ्लोर क्रस गनुहुन्न उनले थाहा खबरसँग भने।
यता कांग्रेसले भने मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने या नदिने भन्ने अहिलेसम्म निर्णय नभएको बताएको छ। नेपाली कांग्रेस प्रदेशसभा विपक्षी दलका नेता जीवनबहादुर शाहीले १० बजे दलको बैठक बोलाइएको र त्यसपछि मात्रै निर्णय हुने बताए। ुपार्टी केन्द्रिय समितिको निर्णय अनुसार हामीले यता निर्णय गर्छौ, हामीलाई पार्टीले अहिलेसम्म निर्देशन दिएको छैन्, अहिले छलफल चलिरहेको छ, पार्टीको निर्णय के हुन्छ त्यहि अनुसार गर्छौ, उनले भने।