कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको आग्रह

सुर्खेत,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ।बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन्।

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ । चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

नेकपा एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने समेत प्रमुख सचेतक नेपालीको दाबी छ । ‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ उनले विज्ञप्तिमा भनेकी छन्।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।