केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म नेपाल–खनाल पक्षका नेता तान्ने ‘रणनीति’ मा ओली
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणका लागि पहल बढाइरहेका बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने आफूलाई थप बलियो बनाउने रणनीतिमा लागेका छन् ।
नयाँ सत्ता समीकरणमा आफूलाई बलियो बनाउन एमाले अध्यक्ष ओली पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई आफूतिर तान्ने खेलमा देखिएका छन् । जसका लागि उनले केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म सक्रियता बढाएका छन् । देशभर समानान्तर कमिटी गठन गरिरहेको नेपाल–खनाल समूहका नेताहरुलाई प्रभावित गर्न अध्यक्ष ओलीले पछिल्लो समय माधवकुमार नेपाल समूहका सांसदहरुसँग एक्ला–एक्लै संवादलाई अगाढि बढाएका छन् । केही दिनयता नेपाल समूहका सांसदहरुसँग ओलीले संवाद गरिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार ओलीले आफूलाई साथ दिन नेपाल–खनाल पक्षका सांसदहरुलाई प्रस्ताव गरिरहेका छन् । ‘प्रधानमन्त्री समूहगत रुपमा छलफल गर्ने पक्षमा हुनुहुन्न । तर, व्यक्तिगत रुपमा नेताहरुसँग कुराकानी भइरहेको छ,’ स्रोत भन्छ । तर, नेपाल समूहका सांसदहरुले भने व्यक्तिगत रुपमा कुनै निर्णय नलिने अडानमा रहेको पनि स्रोतको दावी छ ।
‘उहाँ (माधव समूहका सांसदहरु) हरु व्यक्तिगत निर्णय नलिने अडानमै हुनुहुन्छ । तर, प्रधानमन्त्रीले भने व्यक्तिगत निर्णय लिएमा पार्टीको आकर्षक जिम्मेवारी दिने बताइरहनु भएको छ,’ एक नेताले भने । गत १३ चैतमा बोलाइएको संसदीय दलको बैठकमा नेपाल समूहका सांसदहरु सहभागी भएका थिए । तर, त्यसअघि ७ चैतको बैठकमा भने गएका थिएनन् । अर्थात्, नेपाल समूहका सांसदहरु समूहगत निर्णयकै आधारमा बैठकमा समेत जाने वा नजाने निर्णय समेत लिइरहेका छन् । अध्यक्ष ओलीले भने व्यक्तिगत रुपमा मनाएर सांसदहरु तान्ने प्रयास गरिरहेका छन् । एमालेका १२१ मध्ये ३८ सांसद नेपाल समूहमा छन् ।
योगेश भट्टराईलाई अप्ठेरो पाने योजनामा ताप्लेजुङका स्थानीय नेता
केपी ओली समूहको पछिल्लो रणनीति केन्द्रमा मात्र होइन निर्वाचन क्षेत्रमा समेत केन्द्रीत देखिएको छ । ओली समूहले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न निर्वाचन क्षेत्रमा समेत सक्रियता बढाएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले उनीहरुमाथि निर्वाचन क्षेत्रमा पनि अप्ठेरो पार्ने रणनीति अगाडि बढाएका छन् ।
ओली पक्षले ताप्लेजुङका स्थानीय प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयास थालेको छ । नेपाल पक्षका नेता योगेश भट्टराईलाई
दबाबमा पार्न ओली पक्षले सो कदम चालेको स्थानीय नेताहरु बताउँछन् । लामो समय जिल्लाको नेतृत्व गरेका पूर्वसांसद तिलकुमार मेन्याङ्बो हालै ओली पक्षमा लागेका छन् । नवौं महाधिवेशनमा उनी माधवकुमार नेपाल समूहबाट केन्द्रीय सदस्यमा उठेका थिए ।त्यस्तै माओवादीको प्रदेश नम्बर–१ का संसदीय दलका नेता टंक आङ्बुहाङ र केन्द्रीय सदस्य पासाङ शेर्पा पनि एमालेमा प्रवेश गरी ओली समूहमा लागेका छन् । प्रदेश सभा सदस्य भूपेन्द्र थेबे पहिलेदेखि नै ओली पक्षमा थिए । योगेश भट्टराईले ताप्लेजुङबाट चुनाव लडेका हुन् । ओली पक्षमा लागेका मेन्याङ्बो २०५६ को आमनिर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । गत आम चुनावमा पनि उनले टिकट पाउने अपेक्षा गरेका थिए ।
‘ताप्लेजुङमा मात्रै नभएर आफ्नो विपक्षमा रहेका नेताहरुविरुद्ध स्थानीय प्रभावशाली नेताहरुलाई तानेर विरोध गर्नेमाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ । योगेशजीमाथि पनि त्यस्तै दबाब पैदा गर्न खोजेको हुनसक्छ,’ ताप्लेजुङका नेता तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष शिव गुरुङ भन्छन्, ‘यो लिम्बु बहुल क्षेत्र हो । केही नेतालाई तान्दैमा परिस्थिति उल्टिन्छ भन्ने सोचेको होला । तर, त्यस्तो अवस्था छैन ।’
ताप्लेजुङमा ४२ प्रतिशत जनसंख्या लिम्बूहरुको छ । गुरुङका अनुसार पछिल्लो जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कमिटी भने झलनाथ खनाल र माधवकुमार नेपाल पक्षसँगै छ । ओली २०७५ जेठ २ गतेअघिको पार्टी संरचना बनाउन तयार नभएपछि खनाल–नेपाल पक्षले विभिन्न जिल्लामा पुरानै जिल्ला कमिटी पुनर्गठन गरेका छन् । खनाल–नेपाल पक्षले ताप्लेजुङमा बलबहादुर साम्सोहाङ अध्यक्ष रहेको जिल्ला कमिटीलाई सक्रिय बनाएको छ ।
योगेश भट्टराई ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीका आलोचना मानिन्छन् । भट्टराई २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै गृह जिल्लाबाट प्रत्यक्ष निर्वाचन जितेर मन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भट्टराईसहित सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।