हारेर जितेको एउटा खेल

आफैं उमेद्वार भएर चुनाव लड्दाको अनुभव कस्तो होला ? मत माग्ने र मत दिने बीच कुन विन्दुमा पुगेपछि त्यो मन, यो मनमा आएर बास बस्ला ?  राजनीतिक दलको चुनाव र बौद्धिक पेशा मानिने पत्रकारको चुनावमा के अन्तर होला ?  कुनै दिन कुण्ठित यी जिज्ञासाको उत्तर बनेर आफैं उपस्थित हुन पाउनुको क्षणलाई जीवनकै गौरवपूर्ण पाठशाला मानेको छु ।

यी प्रश्नको उत्तर अनुभव गर्न चुनाव नै लड्नपर्ने रहेछ । जीत, हार एउटा प्रारब्ध हो । जितेर हार्ने भन्दा हारेर जित्ने मनोविज्ञानलाई मैले पहिल्यै परिपक्व बनाएको छु । अनुभवले खारिँदै गएपछि मानिसले बाहिरी हैन, भित्री आँखाले हेर्न रुचि राख्दोरहेछ । नर्सरीमा रोपेको विरुवा नै भोलिको ठूलो वृक्ष हो । तीतेपाती रोपेर पिपलको आश गर्नु पाखण्ड शिवाय केही होइन । मुहान फोहोर गरेर धाराको टुटी जति सफा गरेपनि धारामा झर्ने त फोहोर नै हो । राजनीतिको प्रदूषण सिंहदरबारदेखि ब्रम्हनालसम्म यसरी पुगेको छ कि छुट्याउन खोज्नेहरु असफल हुने पक्का छ । नेताका घरआँगनमा उमेद्वारीको ठेगान लाग्ने, दल विशेषको उर्दीमा मतदान हुने, लेख्न, बोल्न र पढ्न जान्ने पत्रकारका लागि महासंघको आग्लो तलदेखि माथिसम्म बन्द छ । मलाई लाग्छ, चमत्कार नभएसम्म बन्द नै रहनेछ ।

मनमा एउटा, विचारमा अर्को र कर्ममा तेस्रो चरित्र देखाउनु चलेका पत्रकारको दैनिकी हो । राजनीतिक राप र तापमा उनीहरुको मापन हुन्छ । ठोकेर भन्न सकिन्छ– पत्रकारका संगठनहरु दलीय मोर्चा हुन । राज्यका श्रोत, साधन, अलंकार, सुविधा यिनीहरुको मनमौजीमा चल्छन । सञ्चारमन्त्रीको टाइसेट यिनीहरु बनाउँछन । चाहेकालाई शिरमा पुर्याउनु र नचाहेकालाई सिध्याउनु यिनको परम्परा हो । संघ, प्रदेशदेखि वडासम्म यो रोग छ । हो, विकृति भएरै त्यहाँ पुग्ने रुचि जागेको हो ।

हिलोबाट निस्कन हिलोमा टेक्नै पर्ने थियो । गणितीय चुनावमा हारेपनि कर्मको अदालतमा किमार्थ हारेको छैन । बरु गाडीको टायरजस्तै अझ परिपक्व भएर हिमाल, पहाड, तराई गर्ने धोको पलाएको छ । मलाई विश्वासको मत हाल्नेको त्यो अमूल्य भरथेगलाई सधैं सम्मान गर्छु । चुनाव हारेपनि तपाईंका अपेक्षा पूरा गर्ने रोडम्यापको अग्रमोर्चामा रहेर लडने विश्वास दिलाउँछु । सत्कर्मको सत्पात्र बन्ने यात्राबाट कहिल्यै विमुख हुने छैन