यात्रा फोक्सुण्डोको(फोटो सहित)

योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको कामलाई केही समय विश्राम दिएर यहि समयमा शे-फोक्सुण्डो घुम्न जाने साथिहरु बीच अचानक सल्लाह भयो। जो हाम्रो २ वर्ष अघि देखि बनाउदै आएको योजना पनि थियो। सनिवार साथिहरुसंग फोनबाट कुराकानी भयो। ल यो पटक चाहिँ पक्का शे-फोक्सुण्डो घुम्न जानू पर्छ। सबैको समर्थन प्राप्त भयो।ल जानूपर्छ। तर कहिले? भोलि नै।आइतबार ल यति छिटो। एक हप्तापछि गए हुन्न ? छलफल फोनबाटै चल्यो। एक हप्तापछि सार्दा कसैको केही कसैको केही नमिल्ने भयो । हिडे आइतबार हिड्ने नत्र यो सालपनि फोक्सुण्डो घुम्न नपाइने कुरा पक्का भएपछि फोनबाटै निर्णय ठोकियो।ल आइतबार बिहानै हिड्ने शे-फोक्सुण्डोको यात्रामा।

आइतबार बिहानै जाडो होला भन्ने खासै वास्ता नगरीकनै दुई जोर जति कपडा झोलामा कोचेर जे लगाइएको छ त्यस्तै गेटपमा हामी रेडि भयौं । जम्मा मान्छे ८ जना भयौ। अरु दायाँ बायाँ केही नसोची बाइकमा पेट्रोल भर्यौ र हिड्यौं शे फोक्सुण्डोको यात्रामा डोल्पा तिर।हामी फोक्सुण्डोको यात्रामा निस्किएका छौ। जाजरकोट सदरमुकाम खलंगादेखी डोल्पाको सदरमुकाम दुनै सम्म बाइकमा जाने र त्यसपछी २ दिन हिडेपछी शे-फोक्सुण्डो पुगिन्छ भन्नेसम्म जानकारी हामीलाई छ। त्यो दिन हामीहरु जाजरकोट खलंगाबाट रिम्ना, दल्ली हुदै तल्लुबगरमा गएर खान खाने योजना मुताविक नै अगाडि बढ्यौं। करिब साढे १० बजे हामी तल्लुबगर पुग्यौं। खाना खायौं । संयोगबस हामीले खाना खाएको होटलको साहुजी फोक्सुण्डोको यात्रामा गएर हिजो मात्रै फर्किएका रहेछन। त्यसपछी हामीलाई थप सजिलो भयो। उहाँसंग हामीले बाटो,बाँस र खानेकुराहरु लगाएतको जानकारी संगै फोक्सुण्डोमा होटेलको नम्बर पनि लियौं । उनै साउजीको सल्लाह बमोजिम यतैबाट थोरै जकफुड पनि लैजाने निर्णय गर्‍यौं। तल्लुबगरबाट झोलुङ्गे पुल तरेपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका प्रवेश हुन्छ। बाटोमा धेरै झोलुगे पुलहरु आए। साँघुरा र निकै समय पहिला मान्छे हिड्नका लागि बनेका झोलुङ्गे पुलहरुमा बाइक हिडाल्नु चुनौतीकै कुरा थियो। तर नयाँ ठाउँ घुम्ने तिव्र इच्छाहरुका अगाडि ती चुनौतीहरुले घुँडा टेके।

 

भर्खरै खनेको बाटो। ट्रक र ट्याक्टरले बिगारेर हिडिनसक्नु बनाएका। कतै धुलै धुलो। कतै बाटोभरी ठुलाठुला ढुङ्गाहरु भरिएका। बाइक कुदाउन निकै हम्मे परिरहेको थियो साथिहरुलाई। पछाडी बस्नेको हालत पनि ढुङ्गाले बाइक उफारेर सहि नसक्नु नै थियो । तैपनी संयमित हुँदै हामी अगाडि बढी रह्यौ । कतै कतै त बाटो यति सम्म खराब थियो कि गुडिरहेको बाइक एक्छिन रोकेर कुन साइडबाट लिदा सजिलो होला भनेर सोच्नुपर्थ्यो । थोरै मिस्टेकले पनि ठूलो क्षति हुन सक्थ्यो । वान मिस ग्याम फिनिस यो अङ्ग्रेजी वाक्य साथिहरु बिचबिचमा दोहोर्‍याई रहन्थे। बाटोमा अनेक समस्याहरु आए। बाइकमा समस्या आयो। तै पनि हामी रोक्किएनौं। हिडिनै रह्यौ। त्यो दिन हामीलाई जसरी पनि दुनै पुग्नु थियो।आईतबार बिहान ६ः३० बजे जाजरकोट खलंगाबाट बाइकमा चडेका हामी दल्ली, तल्लुबगर, दामाचौर, त्रिवेणी, खदाङ, करबगाड, त्रिपुराकोट हुँदै बेलुकाको करिब ६ बजे डोल्पाको सदरमुकाम दुनै पुग्यौं । शे-फोक्सुण्डो जानलाई दुनै पुग्नुपर्ने रहेनछ।रामबान गुल्मबाटै झोलुङ्गे पुल तरेर जानूपर्ने रहेछ। त्यहाँ नजिकै होटेल पनि नभएको र होटेल भेट्न अलि माथी निकुञ्ज कार्यालय भएतिर जानूपर्ने रहेछ। त्यतापनि आज होटेल प्याक हुन सक्छन भन्ने सल्लाह पाएपछि अन्ततः हामीले दुनै नै जाने निर्णय गर्‍यौं। रामबान गुल्मबाट बाइकमा करिब १० मिनेट हिडेपछी हामी दुनै आइपुग्यौं। दुनै पुग्दा नै हाम्रो शरीर सहि नसक्नु तरिकाले दुखिसकेको थियो। अझ भोलि बिहानदेखी दुई दिन पैदल हिड्नु छ।

सम्झिएरै मन झसङ्ग भयो। तैपनी फोक्सुण्डो पुग्ने हाम्रो रहरले कहि कतैपनि दुख्न मानेन। दुनैमा हामीले त्यो रात होटेल ब्लु सीपमा बितायौं।अर्को दिन बिहाना करिब छ बजेतिर बाइक त्यतै होटेलमा छाडेर हिड्यौं हामी प्रीय शे-फोक्सुण्डोको यात्रामा। सुरुमै साथीहरु दुई ग्रुप बनी हाले । युवा साथीहरु लम्कालम दन्किन थाले।अलि पाका सरहरु मध्ये रमेश प्रसाद रिजाल सर र मेघराज पन्त सर पछाडी छुटिहाल्नु भयो। म पनि दुनैमा केही सामान किन्न खोज्दा उहाँहरु संगै पछाडीको ग्रुपमा मिसिएँ। हिड्न थालेको आधा घण्टा भएको छैन अगाडी गएका साथीहरु र हामी बिचको दूरी करिब एक किलोमिटर बढी नै भइसकेको थियो।दुनैबाट हिडेको करिब एक घण्टापछि हामी निकुञ्ज कार्यालयमा पुग्यौं । कृति बहादुर बुढा सर अचानक त्यहाँ भेटिनुभयो। हामी एकै बर्ष खरिदारमा पोस्टिङ भएका थियौं। उहाँचाहिँ जुम्लाबाट र म सुर्खेतबाट। कृति सर यो भन्दा अगाडि जाजरकोटमा नै कार्यरत हुनुहुन्थ्यो। उसो त उहाको घर पनि जाजरकोट नै हो। पछि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पामा सरुवा हुनु भएछ।

कृति सरलाई निकुञ्जकै अफिसमा भेटेपछि खुसिले मन फुरुङ भयो। फोक्सुण्डो यात्राका लागि निकुञ्ज कार्यालयबाट टिकट काटिसके पछि कृति सरकै आग्रहमा कार्यालयकै प्रतिक्षालयमा बसेर सबैजनाले चिया खायौं। केही छोटा मीठा गफगाफपछि हामी आफ्नो गन्तव्य तिरै सोझियौं। त्यस दिन बिहानको खाना खान छेप्का पुग्नु थियो हामीलाई। बिहानको खाना छेप्कामा खाएर साझ बाँस बस्न चाहिँ होटेल सम्झनामा पुग्ने योजनाका साथ हिडेका थियौं।हिड्दा हामी दुई ग्रुपमा विभाजन भैसकेका थियौं । अगाडीको ग्रुपमा चारजना मोतिराम भण्डारी, प्रेम बहादुर शाही, राम बहादुर बटाला र बिजय कुमार राना। अनि पछाडीको ग्रुपमा हामी चार जना रमेश प्रसाद रिजाल(हाकिम साप), मेघराज पन्त सर , शेर बहादुर भण्डारी सर र म। हामी छेप्का पुग्न करिब २० मिनेट जति बाँकी हुदो हो आकाशबाट मसिनो पानी पर्न थाल्यो। हामी जति जति छेप्काको नजिक पुग्यौं, पानी त्यति ठुलो पर्न थाल्यो। पानीकै बाबजुद पनि बिहानको ११ बजे हामी चारजना छेप्का आइपुग्यौं । अगाडी आएका साथीहरु छेप्काको होटेल झरनामा रहेछन। त्यहाँ आइपुग्दासम्म अगाडी र पछाडीको ग्रुपबीच करिब डेढ घण्टाको समय फरक परेको थियो।

झरना होटेल छेप्का, डोल्पा 

बिहानको ११ बजिसकेको थियो । भोकले नसताउने कुरै भएन । एक गिलास तातो पानी र एक कप चिया खाएर हिडेका थियौं । त्यसैले पनि होला भात, सिमिको दाल, आलु र स्वायबिन मिसाएर बनाएको तरकारी, भाङ्गो मिसाएर कुटेको चटनी खुब स्वादले खाइयो  हामीले खाना खाइसक्यौं तर बाहिर परिरहेको पानी रोकिने संकेत देखिएन। झन झन बढ्न थाल्यो। होटेलका मान्छेहरु अब हिउँ पनि पर्छ होला भन्न थाले । उनिहरु भन्दै थिए आज धेरै हिउँ पर्यो भने त तपाईंहरु माथी जान सक्नु हुन्न ।झन हाम्रो मनमा चिसो पस्यो । ल यहाँसम्म आएर फोक्सुण्डो हेर्न पाइएन भने? साथिहरुलाई फोक्सुण्डो घुम्न जाँदै छौ भनि दिएको घमण्डपुर्ण धम्की, गर्दा गर्दै छोडेर आएका तमाम काम, दुई वर्ष पहिला देखि बनाएको योजना सबै कुरा स्वाहा हुन्छ कि क्या हो ? भनेर साथीहरु सबै झसङ्ग भयौ । तैपनी एकछिनमा पानी हट्ला र हामी हिडौला भन्ने आसा चाहिँ पालीरहयौ । हामी भित्र बसेर पानीको बारेमा अनेक अड्कल काटिरहयौ बाहिर पानी भने झन झन बड्दै जान थाल्यो । अब पानी मात्र हैन हिउँ नै पर्न थाली सकेको थियो । बिस्तारै बिस्तारै वारिपारीका डाँडाहरु सेताम्य देखिन थाले ।

हिउँसंगै आएको चिसो हावाको झोकाले हान्यो हामीलाई पनि । पानी रोकिएको छैन पानी संगसंगै हिउँ पनि परिरहेको छ । अब के गर्ने ? हामी दोधारमा पर्यौ । दिउसोको एक बज्नै लाग्यो । छेप्काबाट सम्झना होटेल सम्म पुग्नचार घण्टा लाग्छ त त्यहाँका स्थानीयले नै भनेका छन। हामीलाई त चार घण्टा बढीनै लाग्न सक्छ भन्नेमा हामी ढुक्क छौ । त्यसो हुदा हामी त्यहाबाट ढिलोमा १ बजे हिडिएन भने हाेटल सम्झनामा पुग्न गाह्रो हुन्छ । र अहिले त्यस बिचमा बस्नालाई होटेलहरु खुला छैनन रे । अब गर्ने के हो ? हामी दोधारै दोधारको भूमरीमा फस्यौं।मोबाइलमा नेटवर्क थिएन। त्यहाँ फोनले काम गर्दो रहेनछ। होटेलमा चाहिँ एउटा सिडिएमए फोन रहेछ । त्यही पनि कति-कति बेला मात्रै काम गर्ने । अहो सम्झदा पनि कति उदेक लाग्दो । सञ्चार र प्रविधीको युग भन्छन । एकाइसौ शताब्दीमा छौ हामी । बिश्वका कति देशहरुमा फाइभ जि प्रबिधीको घम्साघम्सी चलिरहेको छ। नेपालमा पनि नेपाल टेलिकमले फाेरजि जडानलाई तिव्र रुपमा अगाडि बढाईरहेको बेला हामी यस्तो ठाउँमा छौ जहाँ कुनै पनि नेटवर्कले कामै गर्दैन।मलाई यो ठाउँ निकै अन्कन्ठार लाग्यो।जहाँ फोनले काम गर्दैन।जहाँ रेडियो सुन्न पाइदैन।

यस्तो ठाउँमा वर्षौ बस्नु परे हाम्रो हालत के होला ? जो एक सेकेन्ड मोबाइल फोन छोड्न सक्दैन । सम्झदैमा आकुलव्याकुल भइयो । हिजो गाउँ गाउँमा सिंहदरबारको नारा लगाउनेहरु, हिजो एक गाउँ एक वाइफाई भनेर चुनाबी नारा बनाउनेहरु कहाँ छन रु यो गाउँको बारे उनिहरु जानकार छन कि छैनन होला? एकोहोरो मनमा केके कुरा खेल्दै थिए बाहिरबाट साउनी कराएको आवाज आयो लौ माथी सम्झनामा त आज होटेल प्याक भएर कोठा नै छैन रे । तपाईहरु आज यतै बस्नु पर्ने भयो ।लौ खतम भो,भोलि पनि फोक्सुण्डो पुगिन्न कि क्या हो जस्तो लाग्न थाल्यो।उसो त बाहिर पानी कम मात्रै भएको थियो रोकिएको थिएन । बाहिर निस्कदा माथी डाडाहरुमा सेताम्य हिउँ परिसकेको थियो । साउनी बोल्न थालिन आज तपाइहरु यतै बस्नोस माथी सम्झनामा कोठा छैन रे।फेरि आज राती हिउँ कति पर्छ।धेरै हिउँ पर्यो भने त भोलि नै फोक्सुण्डो जान सकिँदैन। बिहान बाटोमा हिउँ पहिरोको समेत जोखिम हुन्छ।

यो साल हिउँ नै परेको थिएन । हिउँ परेको भए यो बेला तपाईहरु कहाँ माथी जान सक्नु हुन्थ्यो र । राती धेरै हिउँ पर्यो भने यहिं बाट फिर्ता जानु पर्ने पनि हुनसक्छ । साउनीको कुराले मन हिउँ भन्दा पनि चिसो भयो । दुई वर्ष देखिको योजना बल्ल सफल होला जस्तो थियो । त्यही पनि बिचमै रोकिन्छ कि क्या हो ? यो पटक फोक्सुण्डो पुगिएन भने त फेरि फोक्सुण्डो आउन अरु कति वर्ष योजना बनाउनु पर्ने हो थाहा छैन भन्दै साथीहरु बिच गन्थन गरियो । अन्ततः साहुनीको कुरालाई आत्मासाथ गर्दै त्यो दिन त्यतै कोठा लिएर बस्ने निचोडमा हामी पुग्यौं। छेप्काको होटेल झरनामा दुई वटा कोठा लिएर हामी त्यो दिन त्यतै बस्यौं । टाइम पास गर्ने अरु उपाय थिएन साथीहरु तास खेल्न बसे । म र शेर बहादुर सर यो पटक यहाँ सम्म पुगेर पनि फोक्सुण्डो पुग्न पाइन्न कि भन्ने गन्थन मन्थन गर्दै एउटा कोठामा पल्टियौं । थाकेर पनि होला म एकैछिनमा भुसुक्कै निदाएछु।

बिउझिदा बेलुकाको चार बजिसकेको थियो।उतापट्टि साथीहरु तासमै ब्यस्त थिए। म बाहिर निस्किएँ।ला बाहिर त नजिकै सम्म सेताम्य हुने गरि हिउँ परेको छ। पानी चाहिँ रोकिएछ। अब मनमा प्रश्न उब्जियो यतिमै हिउँ रोकियो भने हामी फोक्सुण्डो जान सक्छौ होला कि नाई ? मैले यहि प्रश्न होटेलको साउजीसंग राखेँ । आकासतिर हेर्दै उनी बोले राती हिउँ थपिएन भने जान सकिछ तर आकासको चाहिँ अझै भर छैन । मन झन दोधारमा पर्यो । तर जे पो होस प्रकृतिसंग नलड्न सकिन्छ नत भाग्न नै । जो होला सो होला भन्दै म पनि साथीहरुकै रमाइलोमा मिस्सिएँ।तास खेल्दै, हल्ला गर्दै, पैले-पैले सुनेको रमाइला रमाइला कथा कहानी सुनाउदै त्यो रात हामीले त्यतै बितायौ।बिहान बिउझिदा साढे पाँच बजिसकेको थियो।उतापट्टिको कोठामा साथीहरु पनि बिउझिसकेका रहेछन। बाहिरको वातावरण के कस्तो छ भनेर म हतार हतार बाहिर निस्किएँ। बाहिर निस्कदा आकास पुरै हाँसेको देखिन्थ्यो।आकास हाँस्दा आकासको दाँत बनेर ताराहरु पनि टल्कदा रहेछन भन्ने कुराको महसुस मैले पहिलो पटक गरेँ। सुपारी चाम्रो म त के राम्रो छु र है मायाको हेराई हो राम्रो भनेर गीतले भने झै आकास हाँसेको थिएन होला बरु फोक्सुण्डो पुग्न पाइने खुसीमा मनमनै म नै हांसेको थिएँ हुलाँ। खुसिले फेरि मन फुरुङ भयो।

चिया खाएर होटेलको हिसाब गरि पैसा समेत तिरिवरी बिहानको साढे ६ मा हामी फोक्सुण्डोको यात्रामा त्यहाबाट हिड्यौं । हिड्दा फेरि दुई ग्रुप त हुनुनै थियो । यो पटक म पनि अलि हतारिएर हिडेँ । रमेश सर र मेघराज सर फेरि पछि छुट्नु भो । यसपाली हामी छ जना नै अगाडिको ग्रुपमा भयौं। कर्णाली तुरुक्क, सेतीका बगन्या पानी, कर्णाली तुरुक्क ठूलो ठूलो आवाजमा गीत बजाउदै, गाउदै, नाच्दै रमाईलो गर्दै, हिउँ खेल्दै निकै उत्साहका साथ हाम्रा पाइला हिजोका भन्दा आज खुब छिटो चले । जति जति माथी गयो उति झन धेरै हिउँ देखिन्थ्ये । चारैतिर हिउँ नै हिउँ छ। जता हेर्यो उतै हिउँ छ। रुखका पातहरुमा हिउँ भुँईमा हिउँ । हिड्ने बाटोमा हिउँ सुकेका मुडाहरुमा हिउँ । क्यामेरा निकालेर साथिहरु बाटोमै फोटा खिच्न, भिडियो बनाउन थाले । हिजो हाम्रो यात्रा रोकिन्छ कि भनेर हिउँ परेकोमा नरमाईलो लागेको थियो।आज हिउँ परेर चारैतिर सेताम्य भएकोमा निकै खुसी लाग्यो। यो सालको पुरै हिँउद याम सकिनै लाग्दासम्म पनि नपरेको हिउँ हामीलाई स्वागत गर्न पर्खिए झै हामी यात्रामा निस्किएकै दिन पर्नु संयोग मात्रै नभई सौभाग्य पनि हो भन्दै हामीले हिउँ मै हिउँको उत्सव मनायौ ।

कति ठाउँमा म हिउँमा टेकेर चिप्लिएँ। चिप्लिदा सानो तिनो चोटपनि लाग्यो। तर पनि दुखेको महसुस भएन । जाडो त थियो तर जाडोको महसुस गरिएन। हिजो आउनेहरुले पनि यति धेरै हिउँ देख्न पाएनन । भोलि आउनेहरुले पनि सायद यति हिउँ देख्न र मजा लिन पाउदैन होला । यसकारण पनि हामी भाग्यमानी हौ भनेर हामी खुब खुसी भयौ । खुसीले उफ्रदै उफ्रदै आधा बाटो काटेको पत्तै भएन । हिड्दा हिड्दै बिहान केही नखाएको भएर होला अचानक भोक लागेको महसुस भयो । झोलामा चाउचाउ र बिस्कुटहरु थिए । केही थान चाउचाउ र बिस्कुटहरु निकालेर भोकलाई मत्थर पार्ने कोसिस गर्यौं । त्यही बेला याद आयो । पछाडी छुट्नु भएका सरहरुलाई पनि भोक लाग्यो होला । उहाँहरुको झोलामा खाने कुराहरु केही छैन । अब के गर्ने ? उहाँहरु आउन्जेल कुर्ने? साथिहरु भन्न थाले यो भन्दा अगाडि र्‍याची आउँछ त्यहाँ होटेल पनि छन त्यतै गएर कुरौला । बरु अहिले चाहिँ यतै बाटोमा चाउचाउ बिस्कुट राखिदियौं । उहाँहरुलाई भोक लागेको भए खाएर आउनुहुन्छ । चाउचाउ बिस्कुट त राखिदिने तर बाटोमा खुल्ला छोडिदियो भने कसले राखेको हो ? किन राखेको हो ? भनेर उहाँहरुले खानुहुन्न होला ।

बरु यसो गरौ कागजको पानामा लेखेर छोडिदियौं । मैले झोलाबाट डाईरी निकालेँ । र एउटा पाना तानेँ । अनि ठुला अक्षरमा हाकिम साप र मेघराज सरले भोक लागेमा चाउचाउ खानु होला भनेर लेखिदिएँ र तल समय जनाउने संकेतका रुपमा ८ः२० लेखेँ । अनि त्यो कागज र चाउचाउलाई एउटा काठमा उनेर बाटैमा ठड्याइदियौं । यो नौलो तरिका देखेर एकपटक हासो पनिलाग्यो । हामीलाई डर थियो कि उहाँहरु भन्दा पैलै अरु कोहि आएर खाइदिन्छ कि भन्ने । तर त्यसो भएनछ । आउन त उहाँहरु भन्दा अगाडि अरु ३ र ४ जना आए । उनिहरु पनि यो नौलो तरिका देखेर हास्दै आएछन । चाउचाउ चाहिँ सम्बन्धित मान्छेकै हातमा पुगेछ । पछि त्यही चाउचाउ देखेर आएका मान्छेहरु हामीहरुलाई देखेर चाउचाउ काण्ड भनी हास्दै थिए।बिहान करिब नौ बजे हामी र्‍याची आइपुग्यौं । अब हामीले त्यहाँ चिया खानु थियो । र पछाडी रहनु भएका सरहरुलाई पर्खनु पनि थियो।र्‍याचीमा एउटा मात्रै होटेल खुल्ला रहेछ यो बेला । होटेल पाहुनाघर। हामी र्‍याची पुगिसक्दा घाम छिप्पीसकेको थियो । हिउँ टल्किएर हेरिनसक्नु थियो । हिउँ मै फोटो खिचिम । हिउँ मै पल्टियौ । हिउँ मै नाच्यौं। हिउँकै घर बनायौं। करिब एक घण्टा पछि सरहरु आइपुग्नुभयो ।

र उहाँहरुले चिया खाईसकेपछि बिस्तारै हामी अगाडि बढ्यौं । त्यो दिन खाना खान होटेल सम्झनामा जानू थियो । र सकेजती हिडेर आजै फोक्सुण्डो पुग्नु पनि थियो । र्‍याचीबाट हिड्दा अब बाटो अलि खराब छ अरे । अब सबैजना संगसंगै जानूपर्छ भन्ने साथिहरुले पनि संगै हिड्नका लागि आफ्ना पाइलाहरु रोक्न सकेनन । मेघराज सर हिउँमा चिप्लने डरले बिस्तारै हिड्दा उहाँ पछाडी छुट्नु भो । उहाँको साथीका लागि म उहाँसंगै रहेँ । अरु साथिहरुले पुनः आधा किलोमिटरको भन्दा बढिको दूरी कायम गरे। अल्लि माथी पुगिसकेपछि रमेश सर पनि पछाडी हामी संगै हुनुभयो । र पछाडीको ग्रुपमा हामी तीन जना भयौ । हामी बाहेक त्यहाँ अरु थुपै मान्छेहरु फोक्सुण्डोको यात्रामा गैरहेका थिए ।अगाडिको पाँच जनाको ग्रुप नदेखिने गरि अगाडि गैसक्यो । हामीहरु भने हिउँमा लठ्ठि टेक्दै बिस्तारै अगाडी बढ्दै समदुवा आइपुग्यौं । समदुवा, जहाँ फोक्सुण्डो ताल तिरबाट आएको रिग्मो नदि र कान्जीरोवा हिमाल तिरबाट आएको पोङमो नदि मिसिने रहेछ ।

रिग्मो नदिमा एउटा झोलुङ्गे पुल थियो। उक्त पुल तरेर पारी गएपछि अलिकती उकालो आउदो रहेछ । त्यसपछी समदुवा पोस्ट आइपुग्यो । माथी पोस्टमा पुगेपछि पो थाहा भयो हामी रिग्मो नदिको किनारै किनार भएर जानू पर्नेमा पोङमो तिरको बाटो लागेछौ । पुल देखेपछि यता उता केही नहेरी सरासर पुल तरेर वारी आयौं । पुलको मुनिबाट भएर बाटो जाने रहेछ ख्यालै गरिएन । माथी पुगेपछी पो हामी त गलत बाटो आएका रहेछौ भन्ने थाहा भयो । पछि त्यतै सोधेर हामी अर्को बाटो हुँदै तल झर्दै थियौं । त्यही बेला एउटा सानो घरको छेउमा केही लेखेको रहेछ । हेरेँ । ठुला अक्षरमा लेखेर टाँसेको थियो हावा घर। म हासें । हावा घर ? म हाँसेको देखेर नजिकै रहेको मान्छे बोल्यो यो त हावा घर नै हो नि । अहिले रोकिएको छ । एक्छिन पछी त यहाँ हावा चलेर बस्नै सकिँदैन । हावा त जहाँ पनि चल्छ नि भनेर मैले उसको कुरालाई त्यति ख्याल गरिन । उनिहरुले जे भने पनि मलाई हावा घर शब्द नै नयाँ र केही नौलो लाग्यो । गोजिबाट मोबाइल निकालेँ र हावा घरको एउटा फोटो लिएँ ।

होटेल सम्झना, बागराल, डोल्पा

करिब ११ बजेतिर हामी सम्झना होटेलमा आइपुग्यौं । हाम्रा साथीहरु अघिनै त्यहाँ पुगि खान अडर समेत गर्न भ्याइ सकेछन । बाटोमा आउदै गर्दा दुनैबाट हिडेपछि सम्झना होटेलको नाम खुब सुनियो । कति धेरै नाम चलेको होटेल रहेछ भन्ने लाग्यो । होटेलको नाम पनि कति मीठो छ नि है सम्झना । त्यसैले होटेल पुग्ने बित्तिकै होटेललाई ब्याकग्राण्डमा राखेर एउटा फोटो खिची हालेँ । छेप्काबाट फोक्सुन्डोको यात्रामा हिडेपछि ठ्याक्कै खाना खान सम्झनामै पुगिदो रहेछ । यो बिचमा खाना, बस्नलाई अरु होटेलहरु नभएर पनि होला यो होटेल यति धेरै प्रसिद्ध भएको भन्ने लाग्यो । यो बाटो भएर शे-फोक्सुण्डो जाने तर यो होटेलको नाम नसुनेको मान्छे छैन होला । हामी सबैजना खानाको पर्खाइमा बसेका थियौ । भित्र खाना पाक्दै थियो । एउटा अन्दाजी त्यस्तै डेढ केजि जतिको रातो लोकल भाले हाम्रो छेउ आइपुग्यो । भाले देख्नासाथ साथिहरुले मुख मिठ्याई हालेँ ।

मूल्य मिल्छ भने खाइहालौन त भन्ने सल्लाह भयो । अनि साउजीलाई सोधियो । यो भालेको मूल्य कति पर्छ ?साउजीले भालेको मूल्य भनेको सुनेर साथिहरु एक अर्कातिर हेरिमात्रै रहेँ बोली फुट्न कसैको सकेन । भालेको मूल्य थियो ६ हजार । हैट १ भाले काटिकुटी डेढ केजि पुग्दैन होला मूल्य चाहिँ ६ हजार ? एक केजिको त चार हजार नै पो पर्ने भयो त । सायद हाम्रो तिर यसको मूल्य त्यस्तै १००० र १२०० पर्थ्यो होला । यति भएपछि हामी भाले हैन भात खाने तयारीमा लाग्यौं । यति उचाइमा आइपुग्दा पनि नर्मल्ली हामीले दिनहु खाने खाना र यहाँको खानामा त्यति फरक पाएका थिएनौं । उहीँ भात, उहीँ दाल, उहीँ चटनी, उहीँ आलु र स्वायाबिन मिसाएर बनाएको तरकारी । तैपनि त्यहाँको चिसो हावापानी तथा लामो दूरी हिडेर होला भोक चाहिँ छिटो छिटो लागेको महसुस हुन्थ्यो । मैले त्यहा तीन पटकसम्म भात थपेँ । यो देखेर साथीहरु ह्याट्रीक ह्याट्रीक भन्दै मतिर हेर्दै खुब हाँसे । मध्यदिन सम्म खाना नखाएको भोकले हो या पचाउन सक्ने हावापानीले, घरको र त्यहाको मैले खाने खानाको परिमाणमा उल्लेख्य फरक आइरहेकाे थियो । यति पाएपछि त साथीहरुले नजिस्काउन पनि किन । साथिहरुले पछिपछि सम्म भनी रहे घरकीले पकाको भन्दा अर्किले पकाको मीठो हुदो रहेछ है ?

हिजो बेलुका देखि नेटवर्क नआएको मोबाइलमा फोन बज्यो । बल्ल नेटवर्कले काम गर्ने ठाउँमा आइपुगिए छ भन्ने लाग्यो । मोबाइलमा ह्वार ह्वारती ट्राइ म्यासेज आउन थाले। दिउसोको करिब एक बजेतिर हामी सम्झना होटेलबाट फोक्सुण्डो तर्फ लाग्यौं । अब चाहिँ उकालो हिड्नु पर्छ रे।उकालोमा लेक लाग्न पनि सक्छ । त्यसैले सबैजना संगसंगै जाने निष्कर्षका साथ अघि बढ्यौं।सम्झना होटेलबाट हिडेपछी एक्छिनमै तापिरिचा मा वि आइपुग्दो रहेछ। अहो यस्तो ठाउँमा गाउँ नजिक कतै छैन । कहाँबाट आउछन होला विद्यार्थीहरु पढ्न ? कती जना विद्यार्थी हुन्छन होला एउटा कक्षामा ? मनमा थुप्रै प्रश्नहरु उब्जिए । बिद्यालयका भबनहरु चाहिँ भब्य राम्रा राम्रा बनेका छन, के नेपाल सरकारको नै आँखा पुगेको हो ? या कुनै बिदेशी निकायले बनाए होला ? बिचबिचमा बनेका धेरै झोलुङ्गे पुलहरुमा बैदेशिक निकायको सहयोगमा बनेको भनी लेखिएको थियो । त्यसैले हामीले अड्कल काट्यौं यी भबन पनि कुनै बैदेशिक निकायकै सहयोगमा बनेको हुनुपर्छ। केही अघि बढेपछी एउटा झोलुङ्गे पुल आयो । उक्त पुल तरेर पारी लागेपछि एक्छिनमै ठाडै उकालो सुरु हुदो रहेछ ।

यति धेरै हिडेर आएको अब उकालो चड्नु पर्दा गाह्रो हुने त पक्का थियो।उकालो चड्दै गर्दा हामी आठ जना मात्रै भएनौ।अरु थुप्रै मान्छे भेटिए।फोक्सुण्डोको यात्रामा हिडेका। बिस्तारै गफ गर्दै हिड्दै हामी उकालोको अन्तिम चरणमा आइपुग्नै लागेको बेला पछिबाट पिठ्युँमा केही बोकेर आइरहेकी महिलालाई देख्यौं।उनी नजिकै आएपछि उनैले सोधिन,आठजनाको ग्रुप भनेको तपाईहरु नै हो ? हामीले एकसाथ हो भन्यौं । पछि थाहा भयो हिजो हामीले होटेलको लागि फोन गरेको उहालाई नै रहेछ।फोक्सुण्डोमा अहिले सिजन सुरु भइनसकेकाले होटेलको अभाव हुनसक्छ भनेर हामीले नम्बर खोजेर हिजो नै फोन गरेका थियौं। साउनी बाटैमा भेटेपछी हामीलाई भरे बाँस बस्नको चिन्ता भएन । साउनीको पछि पछि भएर केही उकालो हिड्यौं।तर अंह उनी संगसंगै हिड्न सकिएन।तपाइहरु आउदै गर्नु होला भनेर साउनी अगाडि गइहालिन । हामी बिस्तारै उकालो चड्दै फेरि विश्राम गर्दै फोटाहरु खिच्दै आफ्नै सुरमा हिड्यौं । उकालो कटेपछी तेर्सो बाटो आयो । तेर्सो बाटो पनि केही बेर हिडेपछि आइपुग्यो नेपालको सबैभन्दा अग्लो स्थानबाट उत्पती भएको झरना सुलिगाड झरना । सुलिगाड झरना समुन्द्र सहतदेखी ३६१३ मिटरको उचाईमा पर्छ भनेर हामीले लोकसेवाको किताबमा खुब पढेका थियौं । आज आफ्नै आँखाले झरना देख्न पाउँदा मन बिछ्ट्टै खुसी भयो।

सुलिगाड झरना,डोल्पा 

तर झरना हेर्दै जानू पर्ने बाटो निकै अप्ठेरो थियो। भिरमा चट्टानलाई खोपेर काठ अड्याएको त्यसैमा ढुङ्गाको बान्नो लगाएको। माथी उठे टाउको ठोक्किएला भन्ने डर । तल फुत्किए खोजेर नभेटिने ठाउँ। झन आज बाटो भरी हिउँ परेको छ। कतै हिउँमा खुट्टा चिप्लियो भने ? एक्छिन त बाटो देखेर मुटु थरर काप्यो। तैपनी बिस्तारै लौरीको सहारा लिएर हामी भिर काटेर अघि बढ्यौं।अब त ताल भेटिएला भनेको अझै घना जङ्गल मात्रै छ । अझै कति हिड्नु पर्छ ? भन्यो भने साथिहरु म्याप हेरेर अब २० मिनेट भन्न छोड्दैनन। हिड्दा हिड्दै एउटा सुन्दर काठले बनाएको बस्ने ठाउँ भेटियो। एक्छिन विश्राम लियौं । र झोलामा बोकेका जंकफुडहरुलाई पेटमा हालियाे।बाटोभरी यति धेरै हिउँ परेको छ। देख्ने बित्तिकै खाउ खाउ लाग्ने। छुन खोज्यो कि हातमा करेन्ट लागे झै हुने। त्यहाको हिउँ देख्दा मलाई पटक पटक गुल्कोजको याद आउथ्यो। हेर्दा ठ्याक्कै त्यस्तै।

तर छुदा। बेलुकाको करिब साढे पाँच बजे तिर हामीहरु रिग्मो गाउँ आइपुग्यौं।गाउँ पुग्नु ठिक अगाडि एउटा बोर्ड राखेको रहेछ । जहाँ उचाई ३६३५ मिटर लेखेको छ। फोक्सुण्डो ताल पुग्न १० मिनेट लेखेको छ । यति देखेपछि अब ताल आइपुगेको पक्का पक्की भयो।हामीले रिग्मो गाउँभित्र प्रवेश गर्‍यौं । माटाको छत भएका घरहरु छन । आँगनभरी र छतैभरी हिउँ नै हिउँ थुप्रीएको छ । गाउँ सुनसान छ । मान्छेहरु छैनन । यो बेला सबै गाउलेहरु तल झर्दा रहेछन । र बिस्तारै जाडो हटेपछी मात्र माथी उक्लने रहेछन। गाउँभरीमा तीन,चार वटा जति मात्रै होटेल खुल्ला रहेछन यो बेला । त्यही पनि घुम्न आएकाहरुको सम्पर्कमा आएर खुलेका । गाउँको बिचमा रहेको ट्रेकिङ होटेलमा छिर्‍यौं हामी । सबैजना फुत्रुकै थाकेका छन । अब थप दुई कदम हिड्न सक्ने अवस्था छैन।जुत्ता खोल्न समेत अल्छी लागेर आयो । एकैछिनमा साउनीले कालो चिया बनाएर ल्याइन। चिया खायौं । करिब आधा घण्टाको विश्राम पछि हामी शे फोसुण्डोको दर्शनका लागि निस्कियौं । ताल नजिकै रहेको भनेपछि ताललाई देख्नकै लागि पनि दुखिरहेको शरिर एकैछिनलाई सहि सन्चो भएझै भयो । र हामी कसले ताल पैले देख्छ भनेर अघि जाने होडबाजीमा दौडियौं।

रिग्मो गाउँ,डोल्पा 

आहाँ शे-फोक्सुण्डो ताल । क्या सुन्दर छ । चारै तिर हिउँ परेर सेताम्य भएको । वारिपारी अग्ला अग्ला डाँडाहरुको बिचमा गजक्क परेर बसेको ताल । आहाँ प्रकृतिको कस्तो अनुपम उपहार । छेवैमा सेता अग्ला हिमालहरु छन। बिचमा निलो पानीले भरिएको ताल छ । वारि पारी । चारैतिर जता हेर्यो उतै राम्रो । जति हेर्यो उति राम्रो । आहाँ क्या सुन्दर ताल मन्डपमा सजिएकी बेहुली जस्ती । यी डाँडाकाडा यी रुखहरु ठ्याक्कै जन्ती जस्ता । आगनभरी पुष्प फिजाए झै फिजारिएको हिउँ । यो सबै सबै दृश्य मनै लोभ्याउने खाले थिए । जाजरकोट देखि फोक्सुण्डोसम्म आइपुग्दा देखेका प्राकृतिक सुन्दरताहरु। त्यसैमाथी झन विशेष फोक्सुण्डो ताल र यसका वरिपरिका दृश्यहरु । यी सबै सबै देखेर भित्र कतैबाट एउटा मीठो आवाज आयो कर्णाली गरिब छैन । कर्णाली गरिब छैन ।

शे फोक्सुण्डो ताल,डोल्पा 

कर्णाली गरिब छ । कर्णाली पिछडिएको छ । कर्णाली कमजोर छ । कर्णाली अँध्यारो छ । यस्तै यस्तै भनेर कयौ एन्जिओ, आइएन्जिओहरु आए । उनिहरुले कर्णालीलाई के दिए खै थाहा छैन । आफुलाई काठमाडौका घरभेटी बनाए । कयौ लेखकले कर्णाली कर्णाली भनेर लेखे । उनिहरुको कलममा पनि कर्णाली कहिलै ठाडो शिर बनाएर उठ्न सकेन । तर लेखक भने त्यसैको रोयल्टीले आफू काठमाडौमा बाँचिरहे । कर्णालीलाई भने मारिनै रहे सधै सधै । देशमा संविधान बन्यो । बिस्तारै संघियता आयो । गाउँ गाउँमा सिहदरबार पुग्यो । तर अहँ  कर्णाली कर्णाली नै रहिरहयो । उता सिहदरबारको आँखामा पनि कर्णाली पछाडी नै परिरहयो । आजसम्म कर्णालीको बिकासका लागि भनेर कती बजेट आयो ? त्यसको हिसाब कसैसंग छैन । त्यसबाट कर्णालीले के पायो ? आजसम्म यसको सोधिखोजी कसैले गरेन । बस कर्णाली गरिब छ । कर्णाली पिछडिएको छ । यसकै नारा बोकेर कयौले आफ्नो पेट भरे । कयौले काठमाडौमा भब्य महल ठड्याए । तर कर्णाली कर्णाली नै रहिरहयो । पत्रकारले सधै भरी कर्णाली गरिब छ भनी लेखिरहे । मिडियाले सधै भरी कर्णाली बिकट छ भनी देखाईरहे । तर कर्णालीमा के छ । त्यो कसैले खोज्ने कोसिस गरेन । कर्णालीमा के हुनुपर्छ । त्यसको बाटोमा कोहि लागेन । मात्र भनी रहे कर्णाली गरिब छ कर्णालीलाई राहतमा चामल पठाउ ।

धैत यति सुन्दर र यति रमणीय ठाउँमा आइपुग्दा पनि यति नमिठा कुराहरु मनमा लिएर किन अधेरो बनाएको होला आफ्नो मनलाई आफैले । एकपटक आफ्नै गालामा चट्काउन मन लाग्यो । म जुरुक्क उठेँ । चारै तिर हेरेँ । पर साथिहरु फोटो खिच्नमा व्यस्त रहेछन । म पनि मिस्सिएँ उनिहरु संगै । मन नलगाई नलगाई पनि एकपटक फिस्स हाँसे र खिचेँ कोरी बाटी चिटिक्क परेर बसेको फोक्सुण्डोको अगाडि उभिएर केही थान फोटाहरु मैले पनि । जसलाई जति गाली गरे पनि । जसलाई जति गुनासो पोखे पनि आखिर फोटो खिच्नु सिवाय अरु त के नै गर्न सक्छु र म पनि प्रीय फोक्सुण्डो तिम्रो अगाडि उभिएर । फोटा खिच्दा खिच्दै झमक्कै साझ पर्‍यो । अझ कति धेरै फोटाहरु खिच्नु थियो । अङ्ग्रेजी अल्फाबेट वाइ आकारको पुरै ताल हेर्नका लागि भ्यु टावर जानू थियो । त्यो सबै काम भोलिलाई थाती राखेर हामी होटेलमा फर्कियौं ।

रिग्मो गाउँको बिचमा रहेको ट्रेकिङ होटेलमा बसेका थियौ हामी । चिसो होला भन्ने डरले आठै जना एउटा कोठामा संगै सुत्यौं । झ्याल खोले जाडो हुन्छ । सबै झ्याल बन्द गरे अक्सिजनको कमि हुन सक्ने अनुमान त थियो । तर खासै वास्ता गरिएन । सुतेको करिब २ घण्टा पछि मेघराज सरलाई सास फेर्न असहज भएछ । उहाँ उठेर बाहिर भित्र गर्न थाल्नुभयो । शरीर पनि काप्ना थाल्यो भन्न थाल्नुभयो । उठेर भान्सा कोठामा आयौं । भान्सा कोठा अलि खुल्ला थियो । र पनि समस्याको समाधान हुने जस्तो छाटकाट देखिएन । यो देखेर साउनीले अहिले नै तल सम्झना सम्म झरिहाल्नोस पछि झन गाह्रो हुन सक्छ भन्ने सल्लाह दिइन । साउनीको सल्लाह मान्न पनि गाह्रो थियो । दिउसै आउदा त त्यति अप्ठेरो बाटो अब रातिमा कसरी जाने ? यता बसेर भन्दा उता जाँदा झन जोखिम हुने देखे पछि राती राती तल झर्ने आँट हामीले गरिनौं । बरु खुल्ला कोठामा बस्ने र बिहान उज्यालो हुने बित्तिकै तल झर्ने सल्लाह भयो । त्यो रात नसुतेरै बित्यो ।

बिहान उज्यालो भइसकेपछि सरलाई केही विसेक भयो। उचाई त त्यति धेरै होइन । तर पनि अक्सिजनको अभावले कति समस्या बनायो। हामी त एकपटक ताल हेर्न भनेर आएका थियौ। ताल हेर्‍यौं। र केही समयमा यहाँबाट फर्कन्छौ। तर सधै यतै बस्ने मान्छेहरुलाई कति गाह्रो होला। अक्सिजनको कमि त कहिले काही उनिहरुलाई पनि हुदो हो । के गर्छन होला उनिहरु यस्तो अबस्थामा। हस्पिटल, औषधि पाउने कुरा त परको भइहाल्यो अक्सिजनको मात्रा नाप्ने सामान्य यन्त्र पनि छैन।अहो  कति चुनौतीपूर्ण छ है यहाँको जनजीवन। उत्पादन हुने जमिन छैन। मधेसकै चामलको आसमा बाचेका छन यहाँका मान्छेहरु पनि। हुन त कागुनो,जौ, फापर र आलु केही मात्रामा उत्पादन हुन्छ रे। तर के त्यसले वर्षभरी खाना पुग्छ त ? चौरी र झोप्पाहरु छन । घोडा र खच्चडहरु छन मान्छेका सहयोगी भनेका। यिनैको सहयोगमा पुग्छ दुनैबाट यहाँसम्म खाद्यान्न र लत्ताकपडा । यीनैले बोकेर ल्याउछन मधेस हुँदै आएको नुन समेत यो बस्तिमा। हुन त सुबिधा पुगेन भन्ने एउटा सानो गुनासो न हो। कहाँ कुन बस्ती छैन होला र ? कुनै न कुनै समस्याबाट ग्रसित नभएको। समस्याहरुका प्रकार आआफ्नै होलान ।त्यो दिन भ्यु टावरसम्म पुगेर पुरै ताल हेर्ने हाम्रो इच्छा अधुरो नै रहने भयो।

सरलाई त्यति सन्चो नभएपछि जति सक्यो छिटो तल झर्नु थियो। बिहान चिया खाएर एकपटक ताल छेउ गयौं। बिहानीपखका केही फोटाहरु खिच्यौं । केहि भिडियोहरु बनायौं । र हामी होटेल फर्कियौं। बिहान ९ बजे प्रीय फोक्सुण्डो ताल, प्रीय रिग्मो गाउँ सबै सबैलाई बाइ बाइ भन्दै हामी त्यहाँबाट फर्कियौं ।बिहानको ११ बजे हामी होटेल सम्झनामा आइपुग्यौं। खाना चाहिँ हामी माथिबाट हिड्ने बेला नै फोन गरेर अडर गरिसकेका थियौं । सम्झना होटेलबाट खाना खाएर फर्किदा बिहानाको साढे ११ बजिसकेको हुदो हो । जादाको जस्तो हिउँ फर्कदा थिएन । माथि जादा भन्दा तल फर्कदा समय पनि कम लाग्यो। बेलुका करिब पाँच बजेतिर हामी छेप्कामा आइपुग्यौं । छेप्काको झरना होटेल हामी माथी जादा बसेको होटेल हामी आइपुग्दासम्म प्याक भइसकेको रहेछ । झरना होटेलकै साउनीले हामीलाई अर्को दुई वटा होटेलमा बस्ने ब्यबस्था मिलाई दिइन । त्यो रात हामीले छेप्कामा बितायौं।

भोलिपल्ट बिहाना छ बजे नै हामी छेप्काबाट हिड्यौं। चारजना अगाडि र चारजना पछाडी भएर दुई ग्रुप त हुनुनै थियो । त्यसो हुदा आज भने एउटा फाइदा नै देखियो।अगाडिका चारजना दुनै पुगेर बाइक ल्याएर रामबान गुल्ममा आउने र हामी पछाडीका चारजना बिस्तारै हिडेर उनिहरु गुल्ममा आइपुग्दा हामी पनि त्यही पुग्ने। योजना अनुसारनै हिडाई सुरु भयो।अगाडिका साथीहरु दुनै पुगेर बाइक ल्याएर गुल्म नजिक आइपुगेको करिब एक घण्टा पछि मात्रै हामी त्यहाँ पुग्यौं। बिहानसम्म त आजको खान जुफाल गएर खाने भन्ने सल्लाह भएको थियो। जुफाल पुग्न अलि माथी उक्लनु पर्थ्यो। तर पछि अबेर धेरै भयो जुफाल पुग्दा निकै ढिला हुनसक्छ भन्ने लाग्यो र हामी जुफाल नगएर सिधै त्रिपुराकोट गएर खाना खाने र बाला त्रिपुरासुन्दरी माइको मन्दिर दर्शन गर्ने सल्लाह भयो। बेलुकाको बसाई टुंगो थिएन। हिड्दै जाउ जहाँ पुगिन्छ त्यही बसौला भन्नेमा थियौं। करिब १२ बजे हामी त्रिपुराकोट आइपुग्यौं। खाना पकाउने अडर दिएर हामी मन्दिरको दर्शन गर्न निस्कियौं।

संयोगले त्यो दिन शिवरात्री परेको थियो। हामी मन्दिरमा पुग्दा त्यहाँ शिवको प्रसाद बनाउने काम चल्दै रहेछ। तल रहेको शिवको मन्दिर दर्शन गरेपछि माथिको मुल मन्दिरमा उक्लियौं। बाला त्रिपुरासुन्दरी माइ नेपालकै प्रसिद्ध धार्मिक तिर्थ स्थल मध्येको एक हो। जसको व्यवस्थापन निकै भब्य र आकर्षक थियो। डोल्पा पुगेपछी पुग्न नछुटाउने ठाउँ रहेछ बाला त्रिपुरासुन्दरी माइको मन्दिर। त्यो सुन्दरता, त्यो आकर्षणको केही झिल्काहरु मोबाइलमा कैद गर्ने कोसिस गरेर हामी त्यहाँबाट फर्कियौं। हामी खाना खाएर त्रिपुराकोटबाट फर्कदा दिउसोको १ बजिसकेको थियो।

बाला त्रिपुरासुन्दरी माइको मन्दिर,त्रिपुराकोट,डोल्पा

आधा दर्जन भन्दा बढी झोलुङ्गे पुलहरु तर्नुपर्ने। बाटो उस्तै उखड बाखड छ। बाइकको यात्रा । जोखिम नै जोखिमपूर्ण छ बाटो सानो गल्तीले पनि क्षति निकै ठूलो हुनसक्छ। यी यावत जोखिम र समस्याहरुलाई चिर्दै बेलुकाको करिब छ बजे छेप्कामा आइपुग्यौं । बिहान छ बजे डोल्पाको छेप्काबाट हिडेका हामी केही पैदल र केही बाइकमा गरि बेलुका छ बजे जाजरकोटको छेप्कामा आइपुग्यौं। त्यो रात हामी जाजरकोटको छेप्कामा बस्यौं । र भोलिपल्ट कार्य थलोमा पुग्यौं। यसरी करिब एक हप्ता लामो हाम्रो यात्रा टुंगियो ।घुमेर के पाइयो त ? यो प्रश्नको उत्तर म शब्दमा उतार्न त सक्दिन। तर महसुस गर्न सक्छु नयाँ ठाउँ पुग्न पाउदाको आनन्द कस्तो हुन्छ भनेर। हुन त घुम्न जाउ भनेर योजना बनाउदा जति मजा आउँछ। घुमेर फर्कदा त्यो मजा थाकेर लखतरान परिसक्छ। र पनि घुम्नु आखाको रमाइलो मात्रै होइन। त्यहाको रहन, सहन, लवाइ,खवाइ,भाषा,संस्कृती लगाएतका कुरा बारेको जानकारी बटुल्नु पनि त हो। बुझ्नु पनि त हो त्यहाँको परिवेश। लिनु पनि त हो त्यहाँको मानवीय र भौगोलिक अबस्थाको जानकारी।अनुभव गर्नु पनि त हो केही न केही नयाँ कुराको।