देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने

काठमाडौँ,विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने संकेत देखिएको छ।

मौसमविद्का अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। “अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन”, मौसमविद् श्रेष्ठले वताए।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहने छ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।