हराएका सात बालिका र किशोरी भेटिए

काठमाडौँ,महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका र किशोरी फेला परेका छन्।

उनीहरू बुधबार भारतको सीतामढीमा फेला परेका हुन्।भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार अहिले उनीहरूलाई त्यहाँको रेलवे(स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको छ।मङ्गलबार दिउँसो घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए।

उनीहरु राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको थियो।त्यसपछि खटिएको नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई फेला पार्न सकिएको हो । उनीहरु कसरी त्यहाँ पुगे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।