आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ

अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम खाइरहेको छ। गाडी चल्ने नाउँमा मोटरबाटो पुगेको छ।सन्चारको नाउमा डाँडाकाँडामा टावरहरु छन्। तर ति साधनहरुबाट सेवामुलक सेवा हुनसकेको छैन।सुर्खेतदेखी गुटु सम्म ५२ सालमै गाडी पुगेको थियो। अहिलेसम्म पनि त्यो बाटोको हालत धुलाम्य छ।मन्त्रीहरु धेरै बने तर बाटो कालोपत्रे गराउन कसैको ध्यान गएन।बर्खाको समयमा सर्पको टोकाई र सुत्केरी ब्यथाले मर्ने विरामीहरुको अन्त्य कहिले होला खै ? बाटोको दुरदशा देखेपछि गाडीहरुले पनि उकालोमा तान्दैनन् ओरालोमा थाम्दैनन्। पश्चिमी जनताले अहिले सम्म भोग्दै आएको नियती हो।

सेतोमैलो उनिको सुइटर लगाएर यस्तै ४७ र ४८साल तिर हो हाम्रो घरको आगनमा एक मान्छे फकिर बनेर आएका थिए। हाम्रो उखाननै छ मुख छदाछदै नाकले पानी किन खानु। भनाईको मतलब बा आमा दाजु हुँदै दुधे बालकले फकिरको बारेमा खोज पड्ताल गर्न मेरो हैसियतले भ्याउदैन थियो र गरिन पनि। म केटाकेटी नै थिए केटाकेटी भएपनि अरु बालको जस्तो लोसे थिएन म अलि खुर्रो नै थिए।हाम्रो घर मुलबाटोमै पर्छ घरको माथि पट्छी त्यतिबेलाको एकमात्र विद्यालय जीवन ज्योति र गाविस भवन भएर पनि होला हाम्रो घर केन्द्र विन्दुमै पर्छ। पछि बहुदल आएपछि स्वास्थ चौकी पनि त्यही स्थापना भएको थियो।चिनजान र कुराकानी पश्चात् हाम्रै माथिल्लो घरको पश्चिम तिरको कोठामा उहाँलाई बस्ने बन्दोबस्त बुवा आमाले मिलाउनु भयो। ठुलाबुबाहरु यहाँ बस्नु हुदैन थियो। उहाँहरुको बसाई बर्दिया गोला गिधरपुरमा थियो घर पुरै खाली।घरमा बस्ने मान्छे आएपछि हामीलाई पनि के खोज्छस काना आँखो भएझै भयो।

फकिर भएर आउने मान्छे र हामी एक घरका सदस्य झै भयौं। उहाँको नाम थियो जगत बहादुर पाण्डे, घर गुलरिया बर्दिया पेशा स्वास्थकर्मी(ग्रा स्वा का) सिम्ताको काफलकोटबाट सरुवा भएर उहाँ बाँस्पानी हेल्थ पोष्ट लगाममा सरुवा भएर आउनु भएको थियो।फिल्ड भने उहाँको गुटुमा।मलेरियाको प्रकोप धेरै थियो त्यति बेला। बिरामी भएर जचाउने आउने बिरामीहरुको काँचको सलाइडमा रगतको टिका बनाएर सुकाउनु हुन्थ्यो रगत सुकेपछि पेन्सिलले कोड नं लेखेर प्याक गर्नुहुन्थ्यो पछि सुर्खेत हो या बाँसपानी हेल्थपोष्टमा हो जाँचको लागि पठाउनु हुन्थ्यो। एक पटक मलेरिया चेक गर्ने अभियाननै चलेको थियो । दाजुले मलाई पनि संगै गाउँमा लिनुभएको थियो। रगत लिने तरिकापनि सिकाउनु भयो।आमा मलाई घरबाट एक्लै दोक्लै निक्लन दिनु हुदैन थियो। पाण्डे दाजु संग गए भने निस्फ्रिकी हुनुहुन्थ्यो। मलाई र ठुलदाजुको जेठो छोरो धर्मलाई हजुर आमाले ठुलै उमेरमा एककक्षामा भर्ना गरिदिनु भएको थियो।भाप्रका खडक सिंह काकाले एक कक्षाका किताब दिदा हामी निक्कै खुशी पनि भएका थियौ।आज सम्म मैले त्यो खुशी भेटाउन सकेको छैन। खडक सिंह काका अहिले यो संसारमा हुनुहुदैन तर त्यही म पढ्ने गरेको स्कुलको बिच भागमा भने खडकसिंह काकाले लगाएको पिपल भने उहाँको प्रतिबिम्बितको रुपमा उभिरहेको छ।

पातहरु फरफराई रहन्छन्।कहिल्यै उहाँ हामी संग साँङ्केतिक भाषाले कुरा गरिरहनु भएको त छैन यस्तै आभाष हुन्छ। बिद्यालय परिसर भित्र पुगेपछि धेरैलाई उहाँले कखरा पढाउनु भयो आज भने त्यही पिपलको चौतारीमा बसेर सानादेखि ठुला विद्यार्थी भाइ बहिनिहरु अध्ययन सिकि रहेका छन् । पिपलपनि खडक सिंह काकाझै सौम्य र भलाम्दी देखिन्छ। पिपल रोप्दा काकाले खासै मेहनत गरे जस्तो पनि लाग्दैन। रोप्नु अघि मलाई एक मुवालो मल ल्याउन पठाउनु भएको थियो।मैले तल आफ्नै गोठबाट मल लिएर दिएको थिए।खडक सिंह काकाले नामराख्नकै लागि पिपल रोप्नु भएको हो । या होइन त्यो उहाँको भित्री मनको कुरा मलाई थाह भएन। तर उहाँले रोपेको पिपलमा मेरो पनि नाम जोडिर आउला सोचेको थिए तर त्यसो नहुदो रहेछ र आएन पनि।उहाँको देहान्तपछि पिपललाई कस्ले जगेर्ना गर्यो, पानी कस्ले हाल्यो, मल कस्ले दियो यि कुरा तपसिलका रहेछन्। दोस्रो ब्याक्ति दोस्रोनै हुन्छ अहिले आएर महसुस हुदैछ।खडक सिंह काकापनि उपचार गर्न दाजुकै क्लिनिकमा आउनु हुन्थ्यो। खडक सिंह काकाको एउटा आँखा मात्रै थियो अर्को आँखा पुर्ण रुपमा बन्द । खैनि बुहत खानु हुन्थ्यो। पाण्डे दाजुपनि खडकसिंह काकासंग खैनि मागेर खानु हुन्थ्यो। चुरोटमा त्यतिखेर याक,गैडा र खुकुरी मसुर ब्राण्ड थिए। पाण्डे दाजु याक र खुकुरीका फ्याननै थिए। सल्काई सकेपछि लिनुस सर भनेर खडक सिंह काकालाइ पनि सेर गर्नुहुन्थ्यो। पछि पाण्डे दाजुले चुरोट खैनिलाई एकसाथ बिदाई गर्नु भएको थियो।

हामी उहाँलाई पाण्डे दाजु भनेर सम्बोधन गर्थ्यौ अरुको अगाडी। उहाको सामुन्ने भने दाजुनै भन्थ्यौ। पाण्डे दाजु भनेर उहाँको अघि कहिल्यै उच्चारण सम्म गरिएन।ठुलदाजु मोहनसिंह नेपालगन्जमा बस्ने भएर पनि होला। पाण्डे दाजुप्रति अत्याधिक माया लाग्ने। आमालाई केही रोग लाग्यो भने पाण्डे दाजुले नै उपचार गर्नु पर्थ्यो अरुको उपचारले निकोनै नहुने। अनुभव सबभन्दा ठूलो कुरा रहेछ। स्कुलबाट फर्केपछि म हतार हतार गरेर दाजुको औषधि पसलमा पुगि हाल्थे।औषधी पसलमा सानादेखी ठुला मान्छे सम्म आउने गर्थे । अहिले थाह पाउछु रोगले सानो ठूलो भन्दो रहेनछ।त्यति बेला गुटुमा औषधि पसल धेरै थिएनन्। भएपनि बिश्वास लाग्दो औषधी पसल दाजुको मात्रै थियो पाण्डे मेडिकल हल। गुटुसम्म बाटो पुगेको थिएन। यातायातका साधनहरु चल्दैन थिए।दाजु झोलामा औषधी बोकेर बर्दियादेखि कर्णाली चिसापानी देखि जामु हुँदै गुटुसम्म ल्याउनु हुन्थ्यो।दुई तीन पटक त म पनि दाजुसंगै उहाँको घर बर्दिया सम्म पुगेको थिए।एक पटक दाजुको आफ्नो जग्गा देखाउन खैरापुर लिनु भएको थियो। सर्प भनेपछि मेरो सातोनै जाने हामी खेतै खेत हिडिरहेका थियौ।एक्कासी अगाडि सर्प देख्नु भएछ दाजुले। कान्छा सर्प के ? भन्नू भएछ म उफ्रिदै उहाँको काँधमा चढेछु। अहिले पनि त्यो यादले दाजुलाई सम्झी रहन्छु। ठूलो पर्दामा फिल्म देखेको पहिलो पटक मैले बर्दियामानै हो फिल्मको नाम ठ्याकै थाह छैन। सायद कोहेली होकि भन्ने लाग्छ नायक भुवन केसी थिए नायिकाको नाम सम्झना छैन ।

गुलरियामा दाजुले भाउजु, रतन, बड्कन्ना र म लाई ९-१२ को फिल्म हेर्न साइकलमा राखेर लिनु भएको थियो। दाजुले फिल्म हेर्न भन्दा पहिलानै भन्नू भएको थियो । पछाडिको टिकट काट्ने कुरा रतन र मैले मानेनौँ हामी अगाडिनै बसेर हेर्ने मुडेढिपी गर्यौ हाम्रो मुडेढिपिको अघि दाजु भाउजुको जोर चलेन । पछाडी भन्दा अगाढीबाट राम्रो र सजिलो होला हाम्रो केटाकेटी सोच। सोही अनुसार दाजुले टिकट काट्नुभयो हामी अगाडि पलेटी कसेर फिल्म हेर्न थाल्यौ दाजु भाउजू पछाडी पट्टि काठका लामालामा बेन्चमा बसेर। फिल्म चल्दै गयो कथा सुरु हुँदै गयो, हामी थाक्दै गयौं। फाइट जब चल्थ्यो हामी फेरि तंरिएर पछाडि पट्टि हात र अगाडि पट्टि खुट्टा लम्पसार पारेर हेर्दारहेछौं। दाजु भाउजुले फिल्म भन्दा पनि हाम्रो क्रियाकलाप हेर्नू हुदो रहेछ।

टाउको ठाडो पार्नाले गर्धन र ढाड दुखेपछि रतन र म त्यसैमा निदाएछौ। फिल्म पनि सकिएछ। सकिएपछि दाजु भाउजू उठाउन आउनु भयो हामी घरतिर फर्क्यौ ।भोलिपल्ट फिल्मको कहानी सुनाउत केटा हो भन्दा हामी आफ्ना मनमा लागेका कथा भन्थ्यौ कथा कहाँ मिल्नु ,बरु फिल्मको भन्दा रतन र मेरै कथा दमदार बनेको रहेछ। पछिसम्म दाजु फिल्मको कुरा उठाउदा त्यो कुरा भनी रहनुहुन्थ्यो । त्यस पछि म‌ैले सुविधा सम्पन्न हल भए पनि अगाडि बसेर फिल्म हेर्ने दुश्साहास् आजसम्म गरेको छैन।क्लिनिक सम्म आउन सक्ने बिरामीको उपचार दाजु क्लिनिकमै गर्नुहुन्थ्यो क्लिनिक आउन नसक्ने बिरामीको उपचार गर्न बिरामीकै घर पुगेर उपचार गर्नुहुन्थ्यो। हिमासिल चढाएको रु १५० र नर्मल सलाईन चढाएको ५० र ६० रुपैयाँ थियो । त्यति बेला सुइको २० र ३० रुपैया । गाउँमा कसैको उपचार गर्न जानूपर्यो भने दाजु मलाईसंगै लिएर जानूहुन्थ्यो।स्कुलबाट ढिलो आए र दाजु आगाडीनै गाउतिर गइसक्नु भएको रहेछ ।

भने म बारबार उहाँको क्लिलिन चिहाइ रहन्थे।मदिरा स्वाद कस्तो हुन्छ थाह थिएन। मदिराको स्वाद दाजुसंगको संगतबाटै थाह भएको हो। बिरामीको उपचार पश्चात् बिरामी घरपरिवारका सदस्यले एकबोतल र सितन स्वागत स्वरुप ल्याउथे नखाई करै हुदैन थियो। दुई दाजु भाइ गफै गफमा पिउथियौं। अनि घर फर्किन्थियौं।एक पटक दाजु र म गुटुदेखि बर्दिया जान हिड्यौ। बसन्ते कुण्टा,राग,जामु,कुइने हुदै साजबैसेरी पुगेका थियौं । दिनको ३ देखि ४ बजेको हुनुपर्छ। चिसापानीबाट चिसेल पुसै उर्फ डिल बहादुर बयक पुग्नुभयो। हाम्रो जम्का भेटनै भयो। कच्चि भए पनि अहिलेको जस्तो गाडि चल्ने बाटो थिएन मान्छे हिड्ने गोरेटो बाटो मात्रै । बाँकाको भिर डर लाग्दो नै थियो एक्लै दोक्लै हिडन डरपनि। चिसेल पुसैको चिसापानीमा पुस्तक पसल थियो । अहिलेपनि उहाँको गुटुमा पुस्तक पसल छ। हरेकले ब्यापारको मोडालिटी चेन्ज गरेर तर चिसेल पुसैले अझैपनि सोही पेशालाई निरन्तरता दिदै आइरहनु भएको छ।ईन्डियाबाट आउदा उहाँले ल्याउनु भएको पानासोनिक टेपको भने सम्झना अलेसम्म पनि आइरहेको छ। त्यतिखेर गुटुका घरहरुमा केही घरमा रेडियो बाहेक टेप्रिकोट हुदैन थिए।उहालाई टेप्रिकोट समाएको बहुत जजेको हुन्थ्यो ।पाण्डे दाजु र चिसेल पुसैको राम्रो दोस्ति थियो। बस्ने निर्णय साझबैसेरीमै भयो हामी त्यही बास बस्यौं।भाले ठुलै थियो भालेको घाँटी निमोठियो भाले बनाउन दियौ साउजिलाइ भालेको मासु हड्डी चपाउदै मदिराको प्यालामा सबै रमायौ ।

मेरो उमेर १३ र १४ बर्षको हुनुपर्छ। उहाँहरु बिच गफ भने धेरै भएका थिए म भने सुन्ने साक्षी मात्रै। रात बित्यो उज्यालो भयो हामी आ आफ्नो बाटो लाग्यौं। बर्दिया पुयौं। केही दिनको बसाइपछि पाण्डे दाजुको जेठो छोरा गगनले तीन जनालाई साइकिलमा राखेर जयनगर हुँदै रम्मापुर सम्म पुराएको थियो। साईकिलको डण्डीमा बसेको हुनाले मेरो थाईको भाग धेरै दिन सम्म दुखेका थिए। म नेपाल हुदा नेपाली काँग्रेसकै सुभचिन्तक थिए। भारतमा गए पछाडी मात्रै कम्युनिस्ट बिचारधार नजिक हुन पुगे। म नेपाल आउदा लेफ्टिष्ट भएर आएको थिए। दाजु र मेरो राजनीति गफगाफ घण्टौबेर चल्थे। कम्युनिस्टको सरकार आएपछि नेपालमा केही हुन्छ कान्छा भन्नूहुन्थ्यो। ३६ साल हो या ४६ साल तिरको कुरा हुनुपर्छ पाण्डे दाजुलाई त्यसबेलाको ब्यबस्थाले बहुदलबादीको ट्याग लगाएर नौं दिन गुलरिया हिरासतमा राखेको रहेछ। त्यति बेला उहाँ काँग्रेस समर्थक नै हुनुहुदो रहेछ। पछि मलाई भन्नू हुन्थ्यो । मनमोहन अधिकारीको नौ महिने कार्यकालले कम्युनिस्ट शब्दप्रती गहिरो छाप परेको रहेछ।दाजु बिकासको क्रमले फड्को मारेको देख्न चाहानुहुन्थ्यो। माओवादी जनयुद्धप्रति पनि उहाँको सकारात्मक सोच थियो ।संकटकालमा पनि जनादेश, मुल्यांकन , हिमालखबर पत्रीका पढेको देख्थे। पछि कम्युनिस्ट आन्दोलनका नीति व्यवहार र दृष्टिकोण बारे कुरा हुँदै जादा मैले दाजुलाई मसालको सदस्य समेत बनाएको थिए। नियमित लेबीपनि वुझाई राख्नुहुन्थ्य‍ो। अहिलेत मपनि उक्त पार्टीमा छैन ।

स्वतन्त्र भएर बस्नुको मजा लेख्नेहरुलाई अझै मजा हुदोरहेछ। दस बर्षे जनयुद्ध लडेर सरकारमा पुगेर बिग्रेका कमरेडलाई देखेपछि पाण्डे दाजु पछिल्लो समय कम्युनिस्ट शब्दप्रति नै बितृष्णा भाव देखाउनु हुन्थ्यो। म सुर्खेत पुगेपछि दाजुलाई भेट नगरी घर कहिल्यै जादैन थिए। चिया गफ पश्चात् मात्रै हामी छुटिन्थियौँ। ०७६ साल पुसको ११ गते ठुली आमा खस्नु भएको थियो । दाजु अक्सर हरेक साँझ बिहान आउनु हुन्थ्यो क्रियापुल्ती कुर्न । एक दिन बुवा,लक्ष्मी पाध्य बाजे ,पाण्डे दाजु र मैले खिचौला खेल्यौ समय कटाउन। एक गेमपनि नखाएर रुपैयाँ हार्ने मै थिए । यसो भनौ महान हरूवा अर्थात जुवाडे। बाजि धेरै थिएन , धेरै बाजि भएको भए घर खेत जाने कारण यही रहेछ । भन्ने कुराको पछि मलाइ अनुभुत भएको थियो । ठुलि आमाको शुद्धाशुद्दाइ पछि म सुर्खेत आए। त्यसको केही समय पश्चात् गगनले दाजुलाई उपचारको लागि काठमाडौं लिएको समाचार सुनेको थिए। चाडै सन्चोहोलान् सोचेको थिए। ढाड दुखिरहन्छ कान्छा त भनी रहनुहुन्थ्यो भेट हुदा। भर्याङ्गबाट पहिला चिप्लेर खस्नु भएको थियो त्यसैको असर होला भन्ने लागेको थियो मलाई । एक्कासी उहाँको स्वास्थ अवस्था गम्भीर भएको कुरा सुन्दा अचम्म लागेर आयो।

स्वास्थ्य अवस्था बुझ्न गगनलाई फोन पनि गरेको थिए।सम्भव छैन भन्दै उस्ले भिडियो क्लिप पठाएक‍ो थियो। गुटुका धिरेन अंकलले सम्झेका छन् भन्दा दाजुले सकि नसकि सुकेर कलेटी परेका ओठ चलाएर टाउको हल्लाएको अझ‌ै सम्झन्छु। आखिर कालको जेठो, कान्छो कोहीपनि हुदो रहेनछ। जिवनमा तपाईसंग धेरै संगत गरियो हरेक कुरा सियर गरियो तर अन्तिम पटक तपाईसंग प्रत्येक्ष कुराकानी हुन सकेन र लकडाउले परिबन्दमा यसरी पार्यो तपाईको अन्तिम बिदाइमा पनि सरिक हुने अवसर प्राप्त भएन । मेरो जिवनमा सदाको लागि पछुतो बनेर रहयो तपाईसंग कुरा हुन नपाएको पल। हजुरले गुटुबासी सबैलाई उपचार गरेर बचाउनु भयो तर आफैलाइ बचाउनु सक्नुभएन । एकपटम बाटो हिड्ने हटारु थियो उ झाडापखालाले मर्ने तर्खरमा थियो उस्लाई घरको माथी बेलको रुखको घट्ट नजिक उसका साथिहरुले छोडर गइसकेका थिए । १२ वटा सलाइन र औषधी उपचार पश्चात् हटारु निको भएको थियो।फरक यति हो एकदिन सबैले यो धर्ती छोडेर जानैपर्छ तर हजुरले गुटुबासी कसैलेपनि भुल्न नसक्ने ईतिहास बनाएर जानू भएको छ। तपाईले भौतिक रुपले यो संसार छोडेर गएको खबर सुन्दा बहुत रोएको थिए म पनि कोठा भित्र चुक्कुल लगाएर घण्टौ बेर।