होलीमा कडाइ : उपत्यकामा ९० ठाउँमा चेकजाँच, २२३ गाडी ‘होल्ड’
काठमाडौं, फागु पर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्य–मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।
होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ९० ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । मोटरसाइकलमा तीन जना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा गाडी होल्ड गरेको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मोटरसाइकल र स्कुटरमा दुई जनाभन्दा धेरै चढेका, हेलमेट नलगाएका र जथाभाबी हर्न बजाउनेहरुको गाडी होल्डमा राखिएको छ । होल्डमा रहेका गाडीलाई भरे बेलुका मात्रै छोडिने महाशाखाले जनाएको छ ।
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ लगाएर फागु पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ । केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ ।इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस्तै, पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम उच्च रहेको सरकारले घरका परिवारसँग मात्रै फागु पर्वलाई सीमित राख्न आग्रह गरेको छ । यस्तै रंगले स्वास्थ्यमा हानी गर्ने भएकाले प्राकृतिक रंगको मात्रै प्रयोग गर्न र स्वस्थकर खानेकुरा मात्र खान पनि आग्रह गरिएको छ । फागुको अवसरमा आज काठमाडौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ ।