कुडा कर्णालीले छुटाएका कुडा

कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा आकर्षक थियो। त्यसपछि काला पहाडका तोडा,कर्णाली प्रदेशको एघारौं जिल्ला र सरकारका तिनतह बगाउने कर्णाली। राउटेका महामुखिया मैन बहादुर शाहीलाई पनि एघारौं जिल्लाबाट बुलबुले दशौं जिल्लामा बोलाइएको थियो ।काठमाडौंबाट सुर्खेत पुगेका पत्रकारले प्रश्न सोधेका थिए मुखिया शाहीलाई ।राउटेहरु मदिरा खाएर लठ्ठीन थाले स्वावलम्वि भएनन् राज्यसंग परनिर्भर भए ? प्रतिउत्तरमा शाहीले भनेका थिए मदिरा बनाउने को? मदिरा बनाएर समाज बिगार्ने काम हामीले गर्यौ कि तपाईंहरु ले?हामी फिरन्ते जीवन बिताएर मधुस, सन्दुक,कोशी काठका भाडाकुडा बनाएर गुजारा चलाउछौ तर मदिरा बनाउँदैनौ। हो तर हामी मदिरा पिउँछौ।मान्छे गलल हाँसे र मान्छेहरुले मुखामुख गरे। हो पनि हो भन्दै सहमति जनाए।

समाजका चेतनसिल पहिलो दर्जाका प्राणी भनिने हामीहरुले मदिरा नबनाएको भए राउटेले कसरी मदिरा पिउथे।राउटेसंग मितेरी लगाएर धेरैले विद्यावारिधि पनि गरेका छन्। विध्यावारिधि पश्चात् उनिहरुको नोकरी र आम्दानी पनि भयोहोला। पछि ती बिद्यावारी गर्नेहरुले राउटेलाई के दिनसके? आफ्नो स्वार्थको लागि जेपनि गर्न पहिलो दर्जाका भन्ने नागरिकलाई के छुट छ? राउटेलाई दोस्रो दर्जाको नागरिक बनाएर उनिहरुका अर्धनग्न तस्बिरहरुलाई क्यामरामा कैद गरेर एनजिओ,आई एन जि ओ हरुले मागी खाने जोगिको कमण्डलु पनि बनाए।तर फिरन्ते जीवन बिताएर आफ्नो दैनिकी गुजारा चलाउने राउटेहरुको जीवनमा फेरबदल हामीले कहिल्यै देखेनौँ र समाजले पनि देखेन ? गतसाल देखि कुडा कर्णालीको ब्यानरमा ऋद्धि फाउन्डेसनले कर्णाली उत्सव बनाउदै आएको छ।यसपालि पनि उक्त क्रियाकलापले निरन्तरता पाएको छ।त्यति कुरा काट्ने र खोतल्ने काम दुशमनले पनि गर्दैन।

त्यो भन्दा बढी कुरा खोतल्ने काम कुडा कर्णाली उत्सबमा भएको छ। त्यसको एउटै मक्सद हो कर्णाली बासीका समस्या जिउका तिहु नरहुन राज्यको नजर कर्णाली बस्तिका बिकट कुनाकन्दरा सम्म पुगोस। तर कर्णाली बासीका गम्भीर समस्याहरुको निराकण गतसालको समीक्षा सहित यो सालको कर्णाली उत्सवले गर्नसक्यो या सकेन एउटा प्रश्न यहाँ खडा हुन्छ।अप्रेसन पश्चात् विरामी कि निको हुनुपर्छ कि मर्नुपर्छ। कुडा कोट्ट्याएर मात्रै समाधान हुदैन। कर्णाली पर्देशका स्थानीय निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरू के संवेदनशील बने त ? कुडा कोट्टाएपछि समस्याको समाधान खोजिनुपर्छ। यी दुई मध्य एक हुनैपर्छ। १२ औँ देखि १६ औँ शताब्दीको खस साम्राज्य कर्णाली एकाएक कसरी सुकिला मुकिलाको नजरमा दुःख ,पीडा बेदना र अभावको कर्णाली बन्न पुग्यो । कर्णालीलाई भजाएर ब्याज खाने सुकिला मुकिलाहरुको नजरमा लडाई हारेको गोरुझै निरीह किन देखाइयो तत्कालीन कर्णालीका जिल्लालाई के अभाव कर्णालीमा मात्रै छ ? कर्णालीलाई सबैले बिकट र अनकन्टार भुभागको रुपले मात्रै बुझ्ने हो।खोला,नाला,डाँडा पाखा पखेरा के अरु देशमा छैनन् ? हराभरा डाँडा पाखा नदी तालतलैया हिमाल यो देशका सौन्दर्यरुपी आभुषण होइनन् ?

म केही महिना अगाडि जाजरकोटको ढिमे भन्ने गाउँमा पुगेको थिए ।जुन अहिले कुशे गाउँपालिकामा पर्छ ढिमेको सिरान पारि पट्टी कुशे हिमाल छ उसको सौन्दर्यता यहाँ बयान गरेर साध्य छैन एक पटक त्यहाँ पुगेर मात्रै कुशे हिमालको सौन्दर्यता बुझ्न सकिन्छ। २०६४ साल कुनै एक मान्छे झाडा पखालाबाट मृत्यु भएको साँचो हो, त्यसको लगतै अर्को मान्छे पनि मरेछ टाईफाइडबाट गाउँमा । बुढी आमा पनि मरिछन् आफ्नै कालगतिमा। त्यसपछि राहतको नाउमा गाउँका गन्यमान्य र पत्रकारहरुको मिलो मतोमा गाउँ नपुगी हावाको भरमा कालगति मर्नेलाई पनि झाडापखलाको लिस्टमा हालेर सुचि तयार गरिएछ। अनि ढिमेलाई झाडापखला रेड जोन घोषणा गरिए छ।यो मेरो मन गढन्ते कुरा होइन त्यहीकै स्थानिय बासी महिला स्वयम् सेविका हिउकली चन्दले मलाई सुनाएको यथार्थ कहानी थियो । फर्जी झाडापखलाको बिमारी बनाएर राहत खाए बाबू भन्दै हुनुहुन्थ्यो मलाई आफ्नै घरको चुलोमा दहीसंग मकैको रोटी खादै गर्दा।त्यसताका जाजरकोट देखि नेपालगन्ज सुर्खेत तिर आउने जो कोहिलाई हेर्ने दृष्टिकोण हेयको थियो। दिल भूषण पाठकले कुडा कर्णालीको पहिलो सेसनमा भनेका कुरालाई सापट लिदै जुम्लाका महेश नेपालीले लेखेका छन्।

कर्णालीमा भोकमरी हुन्थ्यो। कुनै एउटा घरमा असाध्यै गरिबी थियो। श्रीमान् भारतमा काम गर्न गएका थिए। श्रीमती एक्लै थिइन्।दुईवटा बच्चा बिरामी परेपछि खाद्यान्न, खानेकुरा केही पनि नभएपछि ती महिला आफ्नो घरमा भएको कुनै मुल्य आउने चिज खोज्दा केही पनि नभेटेपछि, चरेसको थाल भेटेपछि, त्यो थाल लिएर उनी सदरमुकाम गइन। बुथमा बसेर चामल साटिनछन्।आफ्ना बिरामी केटाकेटीलाई ख्वाउँनको लागि ।तर फर्केर आउँदाखेरी उनलाई पानी प्यास लागेछ । कर्णाली कहिँको कतै डिलमा त्यो चामल राखिछन्। तल गएर पानी पिइछन पछि माथी आइसकेपछि चामल राखेको ठाउँमा चामलको पोको थिएन। अब त्यो खाली हात घर फर्किनु भन्दा उनी त्यही कर्णाली नदिमा रेलिएर मरिछन्।कर्णाली नदीमा हाम फालेर मरेका धेरै होलान तर एकादेशको कथा बनाएर दिलभुषण पाठकले कर्णाली उत्सबको पहिलो सेसनमा भनेका कुरालाई सरोकारवाला निकायले खोजि नीति गर्नेकी नगर्ने ?अक्सर चरेसको थाल सामान्य घरमा हुदैन।

गरिब परिवार, त्यसमा पनि त्यस घरमा चरेसका भाडाकुडा हुनुले तपाईं सामान्यरुपले त्यस घरको बस्तुस्थिती आफै मुल्यांकन गर्न सक्नुहुन्छ। यसो लाग्छ दिलभूषण पाठकको कथालाई पढेर नजर अन्दाज गर्ने हिम्मत गर्ने हो भने कर्णालीका बासिन्दा ढुङ्गा बालुवा खाएर बाचेका छन्। उनिहरुले अनाजै खान पाएका छैन भन्ने तर्कहरु सृर्जना हुन्छ। संकटकालको बेला मृत्युलाई हत्केलामा राखेर नहिड्ने के कर्णालीबासी मात्रै हुन संकटकालको असर कर्णाली बाहेक अन्त नेपालको कुनै ठाउमा परेन प्रश्न सरासर खडा हुन्छ ? संकटकालको विषम परिस्थितिको असर नेपाल भरिनै थियो।तर कर्णालीका केही घटनालाई हल्लाबोल गरेर कमाईखाने भाडो वनाए भने केही पत्रकारहरुले उपन्यास पनि लेखे।अझै सम्म उनिहरु ब्याज भजाउन सफल भइरहेका छन्। ताप्लेजुङ,इलाम, झापाबाट कमाउन दार्जिलिङ ,सिक्किम ,बंगाल जालान, कालिकोट,जुम्ला,मुगुबाट कमाउन कुमाउ, गडवाल , हिमान्चल जालान फरक यहीँ हो चाहे पुर्वको होस चाहे पश्चिमको उ आफ्नो पाएक पर्ने ठाउँ जान्छ कमाउन। कालापहाडका तोडा गतसालको सेसन मध्य महत्वपुर्ण सेसन थियो। मलाई लागेको थियो यो सेसनपछि अब पश्चिम नेपालका दाजुभाइहरु कालापडा जाने छैनन् । नेपालमै रोजिरोटिको समस्या समाधान हुनेछ।

कालापहाडका तोडा विशेष सेसनमा बेरोजगारी युवालाई स्वदेशमै स्वरोजगार कसरी बनाउन सकिन्छ भन्ने गहन बहस र छलफल नचलेको भने होइन। तर हात्ती आयो हात्ती आयो फुस्सा। गफ गफमै सिमित भए। ऋद्धी फाउन्डेसनले यो साल पनि गफै गफको महाकुम्भ मेला लगाउन छोडेन। स्पोन्सरहरुले पनि कर्णालीका कुडा सुन्नलाई पैसा खनाउन कन्जुस्याइँ गरेनन्।काठमाडौंबाट आएका सुकिला मुकिलाले पनि न्वारन देखिको बल लगाएर कुडा गरे। न राउटेको जिवनस्तरमा सुधार देखियो न राज्य सन्चालन गर्ने कर्मचारी या देश बनाउने ठेक्का लिएका नेताको जीवन शैलि, आचरणमा परिवर्तन देखियो। न प्रशब सुत्केरी ब्यथाबाट ज्यान गुमाउने महिला दिदी बहिनीहरुको मुत्युदरमा ह्रास देखियो। आखिर टाठा बाठाहरु जसरी पनि जहाँपनि सफल हुदा रहेछन्। पोहोर सालको भन्दा यसपाला कार्यक्रम स्थल सिँगार पटार बेस्सरी गरिएको थियो। काठमाडौंबाट आएपछि सानै मान्छे पनि ठुलै देखिँदा रहेछन्।यहाँका जति ठूलो भएपनि भुस्याहा नै देखिएको महसुस भयो। दुई नम्बर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतपनि आए उनले पनि गफ चुटेरै गए। कर्णालीका कुडा कोट्टाएर स्थानिय तहदेखी सरकारका उच्च अहोदामा रेहेका नेपाल सरकारका कर्मचारीहरुको आनिबानी र कामगर्ने शैलिमा के कति फेरबदल भयो।

सरकारका तीन तह बगाउने कर्णाली नामक शेसनले कर्णाली प्रदेशका कर्मचारी र जननिर्वाचित पदाधिकारीहरुलाई के कती जिम्मेवार बनाउन सक्यो समीक्षा हुन जरुरी थियो। तर यसपटक पनि बिहान देखि साँझ सम्म कुडा गर्ने र सुन्नेमै दिन बित्यो। बिकसित देशमा यस्ता कार्यक्रमको आयोजना हुन्छन् होलाकी नाई पंतिकारको मनमा भने गहिरो छाप पारेको छ।परिवर्तन कुरा गरेर हुन्छ या ब्यबहारले परिवर्तन गरेर हुन्छ जिम्मेवार निकायले बुझ्न जरुरी छ।जनताको पसिनाको करबाट उठेको रकमलाई समुचित ठाउँमा लगाएको खण्डमा मात्रै देश बिकास हुन्छ भन्ने मेरो बुझाइ हो। कर्णाली उत्सव दोस्रो शेसनको समीक्षा गरिएन भने लेख अधुरो र खल्लो हुनसक्छ। गत सालझै यो सालपनि सानदार रुपले सफल भयको छ।कार्यक्रम स्थल हेर्दा कुनै विबाह मण्डपझै लाग्थ्यो । रंगिचंगी ध्वजा पतका र रंगिबिरंगी कपडाहरुले कार्यक्रम स्थल सजाइएको थियो। यसो भनौ गत सालको भन्दा अझै राम्रो। काठमाडौंबाट आएका टेलिभिजनका स्क्रिनमा देखिने बरिष्ट पत्रकार,साहित्यकार,लेखक ,कवि ,नेता,नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीहरुको बाक्लो उपस्थित थियो। त्यसको अलबा प्रदेश सरकारका मान्निय मन्त्री देखि प्रदेश सांसद्हरुको घनिभुत उपस्थिति रहेको थियो।

स्थानिय तहका बरिस्ठ पत्रकारहरु राजधानीबाट आएका पत्रकारहरुको दाजोमा फिक्का देखिन्थे। तर स्थानिय स्तरबाट कार्यक्रमको सहजीकरण गरिरहदा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कन्चन भारतीले गर्नुभएको कार्यक्रम उत्कृष्ट रहेको थियो। उहाँको सहजीकरणको मुख्यसार थियो प्रदेश सरकारले चाहेको खण्डमा बिकास निश्चयनै सम्भव छ। त्यसको लागि सरकार जिम्मेवार भएर अघि बढ्नुपर्यो।वन,जंगल,जडिबुटीको प्रयोग बैज्ञानिक प्रक्रियाले राज्यले सन्चालन गर्नुपर्छ र कलकारखाना उद्योग धन्दाको बिस्तार गर्नुपर्यो।राज्यलाई घच्घचाउने प्रकारको थियो।यसो भनिरहदा अरु पत्रकारको नराम्रो थियो भन्ने होइन।आयोजक साथिहरुको खटाइपटाई पनि फौजि जवानको भन्दा कम थिएन।उहाँको अगाडि बर्दिधारी नेपाल प्रहरीका जवान फिक्का पर्थे। आयोजकहरुको आफ्नै ड्रेस,त्यसमा पनि ओकेटोके। ओकेटोके देखेपछि यसो लाग्थ्यो अपराधी पक्रन प्रदेश सरकारले बिना बर्दीका अनुसन्धानका जवानहरुलाई कार्यक्रममा खटाएको छ। तर फरक छुटाउने एउटै संकेत थियो आयोजकको गलामा सदाबहार झुन्डिएको हुन्थ्यो कर्णाली उत्सव लेखिएको आयोजकको ब्याज । उता सुरक्षा कर्मीका जवान भने लठ्ठीसमाएर ठिङ्ग उभिरहेका हुन्थे।

मन्चदेखी बाहिर कार्यक्रम चलिरहदा आयोजक मध्यकै एक बहिनी मेरो छेउमै बसेकी थिइन् सेतो कालो ड्रेसमा। मैले सोधेको थिए बैनि यो ड्रेस तपाईंहरुले आफै सिलाउनु भएको हो या ऋद्धी फाउन्डेसनबाट उपहार ? बैनिको उत्तर थियो दाईहरुले दिनु भएको हो। दाईहरुले पाइन्ट कुर्तामा कर्लेक्स समाउदा दाईहरु पनि निकै अदभुद सुन्दर देखिएका थिए।घरका मुर्गी दाल बराबर भन्ने उखान संग म सहमत छु। स्थानिय साहित्यकार, कवि, गजलकार राजधानीबाट आउने कवि साहित्यकारको अगाडि फिक्का थिए।राजधानीबाट आएका साहित्यकारसंग आयोजकले मोफसलका कवि गजलकारसंग भेटघाट परिचय बनाउने कुरामा कन्जुस्याइँ गरेको देखियो ।उहाँहरुको बास सिद्धार्थ होटेल। मोफसलका साहित्यकारहरु आफ्नै भाडावाला कोठामा र उनिहरुलाई एक कप चिया पिउनको समेत व्यवस्था गरिएको थिएन। स्थानिय श्रष्टाहरुलाइ आयोजकले खासै चासो दिएको पनि देखिएन।कार्यक्रमकै लागि काठमाडौंबाट आएका अतिथिहरुसंग स्थानिय श्रष्टाहरुको परिचय गराउदा आयोजकलाई त्यति अफ्ठेरो के पर्ने थियो होला ?  आयोजकको भने उनिहरुसंग महमिली मौरीको जस्तो सम्वन्ध थियो । ऋद्धी फाउनडेसनले आयोजना गरेतापनि कार्यक्रम कर्णाली बासी सबैको साझा हुन सक्नुपर्थ्यो।

त्यो देखिएन। पोखराबाट आएका एक पत्रकार नेपालगन्ज पुगि सकेपछि मलाई फोनबाट भन्दै हुनुहुन्थ्यो सर कार्यक्रम अलि को अप्रेटिभ जस्तो भयो। जुम्लाबाट यही कार्यक्रमका लागि आएका खस भाषाका शब्दकोष लेखक रमानन्द आचार्य, टङ्गनाथ उपाध्याय र पद्मसरण उपाध्यायपनि कर्णाली उत्सवको ब्यानरमा लेखिएको कुडा र कर्णाली लेखिएको शब्दप्रति अशुद्ध लेखिएको असन्तुष्टि जनाउनु भएको थियो। सुकिला मुकिलाले कुनै बेलाको खस साम्राज्यका बारेमा गलत टिप्पणी गरेर भजाएर खानेका बिरुद्ध सचेत लेखकहरुले खस साम्राज्यको पतन कसरी भयो र खस साम्राज्यताका भएका कला सस्कृतीका अवशेषहरुको रुपमा रहेका सुन्दर पक्षको उजागर गरि प्रचार प्रसार गरिनुपर्दछ। राज्यले गफ गर्नको लागि लगानि गर्नुभन्दा सामुहिक रुपले फाइदा र गरिब बेरोजगार समस्या हल हुने आयमुलक र सिपमुलक योजनामा बजेट बिनियोजन गर्नु देश विकाशको लागि हितकर हुनेछ।सुकिला मुकिलाका गफ मात्रै सुन देश,गाउँ,समाजको समस्या समधान हुदैन।कला संस्कृतिलाई टेवा र बढवा दिनको लागि सरोकारवाल निकायसंग सम्वनय गरेको खण्डमा मात्रै कला संस्कृति र साहित्यको श्रीवृद्धी हुन सक्छ। तिला र हिमानदिको फाँटमा फल्ने मार्सि धान र जुम्ली स्याउँ,ओखरको वयान कसले गर्ने । यो विषयमा सोच्न जरुरी देखिन्छ।

नोटः लेखक धिरेन अनुपम गजल मन्च सुर्खेतका अध्यक्ष हुन भने उनि नियात्रा गजल,कविता साथै कथामा पनि अहोरात्र कलम चलाउनु हुन्छ ।