मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौं, सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दिर्घकालिन समाधानका निम्ती सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् । ‘मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौ ।
‘हामीले मलको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनु पर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालिन समस्या समाधानका निम्ती प्रक्रिया अगाडी बढाएका छौ ।’
बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ती प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।